दंगीशरण गाउँपालिकाले नागरिकता सिफारिश शूल्क नलिने

तुलसीपुर
११ साउन / दाङको दंगीशरण गाउँपालिकाले नागरिकता सिफारिशको शूल्क नलिने भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० का लागि स्वीकृत आर्थिक ऐन २०७९ अनुसार यस अघि लिइदै आएको नागरिकता सिफारिश शूल्क १५० लाई हटाएर निःशुल्क बनाईएको हो । त्यस्तै अपाङ्गता परिचयपत्र सिफारिस लागायत बिभिन्न ६ प्रकारका सिफारिसहरुलाइ निःशुल्क गरिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।

त्यस्तै यस अघि घर बाटो सिफारिस प्रति कित्ता ‘क’ बर्गको लागि रु. एक हजार पाँचसय,‘ख’ बर्गकालागि एक हजार, ‘ग’ बर्गकालागि ८ सय, ‘घ’ बर्गका लागि ६ सय लिइदै आईएको थियो । त्यस्तै ‘ङ’ बर्गकालागि पाँचसय र ‘च’ बर्गकालागि ३०० रुपैया कायम गरेको थियो । तर, अब कित्ताको नभई कठ्ठाको आधारमा शूल्क निर्धारण गरिएकोछ । थोरै प्रति कित्ता गर्दा सेवाग्राहीले धेरै शूल्क तिर्नु परेको गुणासो बढेपछि त्यसलाई कठ्ठाको आधारमा शूल्क निर्धारण गरिएको गाउँपालिका राजश्व शाखा प्रमुख किरण पोख्रेलले जानकारी दिनुभयो ।


उहाँका अनुसार चालु बर्षदेखि बाटो सिफारिस ५ कठ्ठा सम्म रु पाँचसय, १० कठ्ठा सम्म रु आठसय, १५ कठ्ठा सम्म रु एक हजार, १ बिगाहा सम्म रु एक हजार दुईसय र २ बिगाहा देखि माथिकालागि रु दुई हजार कायम गरिएको छ ।

गाउँपालिकाले चालु वर्षमा एक करोड ३५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करको दरमा हेरफेर गरिएको अध्यक्ष शम्भु गिरीले बताउनुभयो । राजस्व परामर्श समितिको सिफारिश अनुसार चालु बर्षको राजस्व संकलनको प्रक्षेपण गरिएको बताउनुभयो । अघिल्लो आर्थिक बर्षमा ८० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा ३० लाख ७६ हजार ४ सय ३० रुपैयाँ संकलन भएको राजस्व शाखा प्रमुख किरण पोख्रेलले बताउनुभयो ।