संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी : आर्थिक–प्रशासनिक काम ठप्प, सापटी मागेर परीक्षा सञ्चालन गर्ने तयारी

दाङ, १० साउन ।
तीन महिनादेखि जारी तालाबन्दीका कारण नेपाल संस्कृत विश्वविद्यालय परीक्षा सञ्चालन गर्नसमेत नसक्ने अवस्थामा पुगेको छ । गत आर्थिक वर्षको ‘क्लोजिङ’ गर्न नपाएपछि विश्वविद्यालयले अन्य क्याम्पससँग रकम सापटी मागेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । विश्वविद्यालयमा १९ वैशाखदेखि तालाबन्दी छ ।

विश्वविद्यालयमा १६ साउनदेखि आचार्य तहको परीक्षा सञ्चालनको तालिका छ । तर, पदाधिकारी तथा आर्थिक प्रशासनमा समेत ताला लागेका कारण बजेट चलाउन सक्ने अवस्था छैन । रजिस्ट्रार माधव अधिकारीले तालाबन्दीका कारण अघिल्लो आर्थिक वर्षको बजेट क्लोजिङ नभएको र अहिले परीक्षाजस्तो अत्यावश्यक कामका लागि बजेट व्यवस्थापन गर्न नसकिएको बताए ।

‘१६ साउनदेखि आचार्य तहको परीक्षा छ, तर तालाबन्दीले कसरी सञ्चालन गर्ने भन्ने अन्योल छ,’ रजिस्ट्रार अधिकारीले भने, ‘कुनै क्याम्पससँग रकम रहेछ भने सापट मागेर चलाउन सकिन्छ कि भनेर पदाधिकारी छलफलमा छौँ, रहेनछ भने परीक्षा सञ्चालन गर्न अप्ठ्यारो हुन्छ ।’ परीक्षा १५ दिनसम्म सञ्चालन हुँदै छ । परीक्षा सञ्चालनका लागि तत्काल अत्यावश्यक खर्चका विषयमा परीक्षा नियन्त्रण कार्यालयले पनि तयारी गरेको छ ।


असारको अन्त्यसम्ममा भुक्तानी दिनुपर्नेलगायतका काम प्रभावित भएको पदाधिकारीले बताए । तालाबन्दीकै कारण शिक्षक–कर्मचारीले पनि तलबसमेत पाएका छैनन् । अधिकारीका अनुसार जेठ र असार महिनाको तलब अहिलेसम्म प्राप्त गरेका छैनन् ।

विश्वविद्यालयलाई पदाधिकारी र विद्यार्थी संगठनले राजनीतिक अखडा बनाएका छन् । विश्वविद्यालयका पदाधिकारी एमालेनिकट छन् र तालाबन्दी नेविसंघले गरेको छ । केही समयअघि एमालेनिकट अनेरास्ववियु ताला फोडेरै दैनिक कामकारबाही सुचारु गराउने पक्षमा थियो ।

नेविसंघले १४ बुँदे माग राखी १९ वैशाखमा विश्वविद्यालको केन्द्रीय कार्यालय, सेवा आयोग, विद्यापीठहरूमा तालाबन्दी गरेको थियो । केही दिनअघि नेविसंघलगायतका विद्यार्थी संगठनसँग भएको वार्तामा ११ माग सम्बोधन भएका छन् । वार्तापछि विश्वविद्यालयको दाङस्थित केन्द्रीय कार्यालयको मूलगेटको मात्र ताला खोलिएको छ ।