‘रेडिमेट’ जवाफमै वित्यो हेमराज हत्याको १२ बर्ष

तुलसीपुर
६ साउन/ प्रत्येक बर्ष साउन ६ गते देविप्रसाद धिताल‘हेमराज’ स्मृति प्रतिष्ठानले कार्यक्रम गर्छ । त्यहाँ सुरक्षा निकायका जिल्लाका प्रमुखहरुलाई बोलाईन्छ । त्यहाँ कुनै आशाका कुराहरु आउदैनन् । आउछन् त केवल‘रेडिमेट’ जवाफ मात्रै । तुलसीपुरका तत्कालिन सञ्चार उद्यमी हेमराज धितालको हत्या भएको शुक्रबार १२ बर्ष भएको छ । तर, अझै पनि हत्या गर्ने ब्यक्तीको पक्राउ पर्न सकेको अबस्था छैन । सुरक्षा निकाय भन्छ‘अनुसन्धान भइरहेको छ ।’ शुक्रबार प्रतिष्ठाले आयोजना गरेको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अनुसन्धान अन्तिम चरणमा पुगेको बताउनुभयो ।“अनुसन्धान लगभग अन्तिम चरणमा पुगिसकेको छ”,उहाँले भन्नुभयो“प्रमाण नजुट्दै धेरै कुरा भन्न मिल्दैन, प्रमाणविना केही भन्न पनि नपाईने अबस्था छ ।”
उहाँका अनुसार यो विषयमा सबै किसिमको अनुसन्धान भइरहेको छ । ढिलो भएपनि अनुसन्धानको फाइल भने बन्द नभएको उहाँको भनाई छ ।“अनुसन्धान भइरहेको छ, फाईल बन्द भएको छैन, सत्य कुनै दिन बाहिर आउछ”,उहाँले भन्नुभयो“यसमा कुनै शंका नलिदा पनि हुन्छ ।” घटनाका बारेमा फलोअप गर्दै जाँदा ढिला भएको समेत उहाँको भनाई छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले पनि विगतका बर्षजस्तै ‘रेडिमेट’ जवाफ दिनुभयो । उहाँले अनुसन्धान भइरहेकाले ढिलो चाँडो दोषी पत्ता लाग्ने बताउनुभयो ।“१२÷१३ बर्षपछि पनि अपराधी पत्ता लागेका इतिहास छन्”,उहाँले भन्नुभयो“त्यसैले अनुसन्धान भइरहेको छ, यो विषयमा पनि पत्ता लाग्छ ।”
आफन्त तथा शुभचिन्तकले भने घटना भएको केही दिन देखि नै यस्ता जवाफ सुन्न थालेको बताएका छन् ।“जतिबेला घटना भयो, त्यसको केही दिन देखि अनुसन्धान अन्तिम चरणमा पुगेको छ, भनेर जवाफ आउथ्यो, त्यो जवाफ सुन्न लागे १२ बर्ष पुगिसकेको छ”, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले भन्नुभयो“कि त हुँदैन, भनिदिनु प¥यो, कि सत्यतथ्य छिटो पत्ता लगाइदिनु प¥यो ।” यो शक्ति केन्द्रको दवावले घटना ओझेलमा परेको हो की, भन्ने आफन्तले शंका ब्यक्त गर्न थालेका छन् ।


धिताल तत्कालिन रेडियो तुलसीपुरका अध्यक्ष थिए । २०६७ साल साउन ६ गते बेलुका ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हेमनगरमा एक अपरिचित समूहले गोली हानी हत्या गरेको थियो । राप्ती राजमार्ग अन्तर्गत हेमनगरमा मोटरसाइकलमा तुलसीपुरस्थित घरतर्फ आउँदै गरेका धिताललाई बाटो ढुकेर बसेको समूहले लखेटी–लखेटी गोली हानी हत्या गरेको थियो। जतिबेला उनी आफू जन्मेको गाविस तत्कालीन उरहरीका विभिन्न गाउँमा नेपाली कांग्रेसको चुनावी प्रचारको कार्यक्रममा पुगेर तुलसीपुरतर्फ फर्किरहेका थिए । ४÷५ जनाको समूह धितालको हत्यापछि मकैबारीबाट भागेका प्रत्यक्षदर्शीले तत्कालीन समयमा बयान दिएका थिए ।