
तुलसीपुर, ६ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.४ स्थित गुरुजजुर नमुना माविमा मोटिभेसन तथा अनुभव आदानप्रदान कार्यक्रम भएको छ । शिक्षक,विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघलाई मोटिभेसन कक्षा दिइएको हो । कालिका ज्ञान मानव मावि बुटवलका पूर्व प्रधानाध्यापक घनश्याम पाठकले प्रशिक्षण दिएका हुन् ।
त्यस अवसरमा उनले भने शिक्षकहरु विद्यार्थीहरुलाई मुस्कान सहितको दिनुपर्ने बताए ।“सबै भन्दा बढि विग्रिएको पुलिस भन्ने थियो, सबैलाई तँ भनेर बोलाउने, ब्यबहार पनि अभद्र खालको थियो”,उनले भने“तर, अहिले प्रहरीले समेत मुस्कान सहितको सेवा भनेर भनिरहेको छ, तर शिक्षकहरुले कहिले मुस्कान सहितको सेवा दिने ?” मुस्कान सहितको सेवा दिएमा मात्रै विद्यार्थीहरु उत्साहित भएर अध्ययन गर्ने समेत उनले बताए ।
विद्यार्थीहरुलाई पढाउने नभई सिकाउने कुरामा ध्यान दिनुपर्ने समेत उनले बताए । धेरै विद्यालयहरुले बार्षिक शैक्षिक योजना समेत नबनाउँदा पनि उल्लेख्य रुपमा शैक्षिक स्तर हाँसिल गर्न नसकेको भन्दै शैक्षिक योजना अपरिहार्य रहेको समेत उनले बताए । शैक्षिक योजना बनाएमा भर्ना अभियानको बेला विद्यार्थी खोज्न समेत जान नपर्ने उनको भनाई छ ।
अर्को तर्फ सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकले आफ्ना छोराछोरीहरुलाई पनि सामुदायिक विद्यालयमै राख्नु पर्ने बताए । आफैले पठाएको विश्वास नलागेर निजि विद्यालयमा पढाउनु पर्ने अबस्था अन्त्य हुनुपर्ने बताए । निजिमा पढाउँदा सामुदायिक विद्यालयप्रति चासो नहुँने हुँदा पनि यसरी स्तर खस्किदै गएको उनले बताए ।“हामी शिक्षकहरु १८ औं सताब्दीका धामी जस्ता हुनुभएन”, उनले भने“त्यतिबेला धामीले अरुका छोराछोरी विरामी भए आफै धामी बस्ने तर आफ्नो छोराछोरी विरामी भए आफ्नो विश्वास नलागेर अर्को धामीलाई ढ्याङ्ग्रो ठोक्न लगाउने जस्ता कार्य शिक्षकले गर्नुभएन ।”
शिक्षकलाई प्रबिधिमैत्री बनाउने, नियमित तालिम दिने,नियमित मूल्यांकन गर्ने जस्ता कार्य गर्ने, शिक्षकहरु पनि एक जुट हुने जस्ता कार्य भएमा शिक्षण कार्य उत्कृष्ट हुने उनले बताए । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक उद्देश्यमाथि सहायक प्रधानाध्यापक प्रमोद कुमार न्यौपानेले प्रष्ट पारेका थिए, भने प्रधानाध्यापक विष्णु कुमारी केसीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन ।
विद्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्ष प्रणव कुमार खड्काले मन्तब्य ब्यक्त गरेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष लोकमणी पन्थीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक प्रतिनिधि गोपाल बुढाथोकीले गरेका थिए ।



लाइभदाङ । ७ भाद्र २०८२, शनिबार ०७:४६ बजे