
दाङ, १७ साउन ।
माध्यमिक विद्यालय सौडियारका एक शिक्षकले पदीय आचारण विपरीत गतिविधि गरेको आरोप लागेपछि विद्यालयले घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले शिक्षक अभिभावक संघकी कार्यवाहक अध्यक्ष खिमा घर्ति मगरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीका अनुसार अभिभावक र विद्यार्थीहरूबाट गुनासो आएपछि प्रारम्भिक छानबिनका क्रममा केही प्रमाणहरू फेला परेका थिए। त्यसकै आधारमा विस्तृत छानबिन गर्न समिति बनाइएको हो।
विद्यालय व्यवस्थापन समिति (बिब्यस)का अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा सल्लाहकार माधव न्यौपानेको प्रमुख आतिथ्यतामा बसेको बैठकमा, एक शिक्षकले आफ्नै विद्यालयमा विद्यार्थी भर्ना गराउनुपर्नेलाई प्रोत्साहन गर्नुको सट्टा अन्यत्र जान प्रेरित गर्ने, भटकाउने जस्ता अनैतिक तथा पदीय आचारण विपरीतका कार्यहरू गरेको गुनासो आएको जानकारी दिइयो। सोही गुनासोको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय भएको विद्यालयका सूचना अधिकारी खिमानन्द कालाथोकीले जानकारी दिए।
छानबिन समितिलाई एक हप्ताभित्र प्रतिवेदन पेस गर्ने समय सीमा दिइएको छ। समितिमा संयोजक घर्ती बाहेक सदस्यहरूमा बिब्यस सदस्य यमकला पुन मगर, सामुदायिक सिकाइ केन्द्र सौडियारका अध्यक्ष चन्द्रप्रसाद घिमिरे, मावि इन्चार्ज हिरालाल न्यौपाने र विद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डे (सदस्य सचिव) रहेका छन्।



लाइभदाङ । १८ श्रावण २०८२, शनिबार ०८:१८ बजे