तुलसीपुरबाट चार लागुऔषध कारोवारी पक्राउ

तुलसीपुर
५ साउन / दाङको तुलसीपुरबाट ४ जना लागुऔषध कारोवारीलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार विहीबार साँझ ६ बजेतिर ४ सय ९० मिलिग्राम ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरिएको हो ।

तुलसीपुर ६ शिवा शिखर कोलोनी टोलमा बिक्रि बितरण भैरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले तुलसीपुर ६ ज्ञानज्योति टोल बस्ने २१ बर्षीय अर्जुन नेपलीको साथबाट १ पुडिया, तुलसीपुर ६ सुकौरा रोड बस्ने २५ बर्षीय सागर गन्धर्बको साथबाट ६ पुडिया, तुलसीपुर ५ बसपार्क बस्ने २३ को सन्तोष बिकको साथबाट २ पुडिया र सोही ठाउँ निवासी २५ बर्षीय निर्मल घर्तीको साथबाट १ पुडिया ब्राउनसुगर बरामद गरिएको हो ।


उनीहरु चारैजनालाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साथै उनीहरुको साथबाट २३ हजार रुपैँया नगद समेत बरामद गरिएको छ । प्रहरी निरीक्षक बखत बहादुर शाहीको कामण्डमा खटिएको ८ जना प्रहरीको टोलीले उनीहरुलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।