तुलसीपुरमा नक्कली रासायनिक मलः बालुवा र माटो भेटियो

दाङ
३२ असार / दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का किसानहरुले स्थानीय टरिगाउँ महिला कृषि सहकारी संस्थाबाट रासायनिक मल लिए र खेतमा प्रयोग गरे । तर, त्यो मलले रोपेको धानमा कुनै परिबर्तन ल्याएन ।

प्रति बोरा दुई हजारका दरले किसानहरुले सहकारीबाट मल लिएर हालेका थिए । एकातिर मलको अभाब र अर्को तिर किनेर लिएको मलले पनि काम नगरेपछि आफूहरु चिन्तित बनेको किसान मानबहादुर चौधरीले गुनासो गरे ।

आफूहरूलाई गुणस्तरहीन मल दिएको किसानहरुको गुनासो छ । सहकारीले उनीहरूलाई ‘के गोल्ड’ ब्रान्डको रासायनिक मल बिक्री गरेको थियो । त्यो मलले काम नगरेपछि ५० जना किसानहरुले सहकारीमा गएर ध्यानाकर्षण समेत गराएका थिए । उनीहरूका अनुसार खेतीका लागि नभई नहुने रासायनिक मल ल्याउने भन्दै सहकारीले गत माघ महिनादेखि रकम संकलन थालेको थियो ।


सहकारीमा गुनासो लिएर आइपुगेका किसानले एउटा भाँडोमा मल र रासायनिक मल राखेर घोलेरसमेत देखाएका थिए । मलमा माटो र बालुवा भएको उनीहरूले बताए । सहकारीमा पुगेका वडा नं. १० का अध्यक्ष यमराज केसीले किसानहरूको गुनासो आफूले सुनेको भन्दै सत्य बुझेर अगाडि बढ्ने बताए ।

सहकारीका प्रतिनिधिले पनि त्यो मलमा समस्या रहेको स्वीकार गरेका छन् । सहकारीले के गोल्ड रासायनिक मल कञ्चनपुरको सुधारत्न ट्रेडर्स एन्ड सप्लायर्सबाट किनेको थियो । मल नपाइरहेको समयमा एक जना व्यापारी आएर सप्लायर्सबारे जानकारी दिएपछि सहकारीले त्यहाँबाट मल खरिद गरेको हो । यो समस्या समाधानकालागि वितरकसंग कुरा भइरहेको सहकारीका प्रबन्धक सनिता भण्डारीले बताईन ।