सधै शक्तिको केन्द्रमा दाङ

दीपक बोहरा
दाङ,२८ असार ।

दाङ प्रायः शक्तिको केन्द्रमा रहने गर्छ । प्रत्येक संसदको कार्यकालमा सत्तामा दाङबाट प्रतिनिधित्व हुनेगर्छ । २०७४ सालको निर्वाचनमा निर्वाचित प्रत्येक्ष सांसदहरु अहिले प्रायःशक्तिमा पुगेका छन् । तीन वटा निर्वाचन क्षेत्र भएको दाङमा यो कार्यकालमा तीनै जना शक्तिमा पुगेका छन् । त्यस्तै ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा चारजना सांसद शक्तिकै वरिपरि छन् ।

क्षेत्र नं. १ बाट निर्वाचित सांसद मेटमणी चौधरी हालै मन्त्री नियुक्त भएका छन् । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष समेत रहेका चौधरी शहरी विकास मन्त्री भएका छन् । उनी पहिलो पटक मन्त्री बनेका हुन् । मन्त्री निर्वाचित भएसंगै उनले मन्त्रालयलाई द्रत गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै दाङ क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा माओवादी केन्द्रका प्रभाबशाली नेता कृष्णबहादुर महरा पनि शक्तिमा पुगेका ब्यक्ती हुन् । माओवादी केन्द्र र एमालेबीचको गठबन्धनका बेला उनी संसदको सभामुख निर्वाचित भएका थिए । तर, उनी बलात्कारको आरोपमा बीचमै पदमुक्त हुनुपरेको थियो । महरा शक्तिमा पुग्ने नेता मध्येका एक हुन् । उनी सधै पार्टी भित्र पनि शक्तिशाली र सत्तामा पनि शक्तिशाली पदमा पुग्ने ब्यक्ती हुन् । उनी २०६५ सालमा गणतान्त्रिक नेपालको पहिलो सूचना तथा सञ्चार मन्त्री भएका थिए, त्यसपछि २०६७ सालमा उपप्रधान तथा सञ्चार एवं गृहमन्त्री भएका थिए, २०७३ सालमा उपप्रधान तथा अर्थमन्त्री भएका थिए, भने २०७३ सालमै उपप्रधान तथा परराष्ट्र मन्त्री भएका थिए ।

दाङ क्षेत्र नं. ३ बाट निर्वाचित हिराचन्द्र केसी पनि बहालवाला राज्यमन्त्री हुन् । उनी स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री भएका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका केसी भर्खरै नियुक्त भएका नयाँ राज्यमन्त्री हुन् । उनी एकीकृत समाजवादीमा लागेपछि चिठ्ठा परेको धेरैको विष्लेशन हुने गरेको छ । २०७४ सालमा तत्कालिन एमालेका जिल्ला सचिब रहेका केसीको यो राजनीतिक छलाङका रुपमा लिइएको छ । उनी पहिलो पटक राज्यमन्त्री बन्ने मौका पाएका ब्यक्ती हुन् ।

प्रदेशमा पनि मन्त्री नै मन्त्री

प्रदेशमा पनि दाङ अधिकांस प्रतिनिधिसभा सदस्यहरु मन्त्री छन् । दाङ क्षेत्र नं. १ को प्रदेशसभा २ बाट निर्वाचित एमालेका रेवतीरमण शर्मा र क्षेत्र नं. २ को प्रदेशसभा २ बाट प्रत्येक्ष निर्वाचित सांसद अमरबहादुर डाँगी बाहेक सबै यही कार्यकालमा मन्त्री भइसकेका छन् । डाँगीले सांसद पदबाट समेत राजीनामा दिइसकेका छन् । उनी हाल प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको सल्लाहकारका रुपमा छन् ।


दाङ क्षेत्र नं. १ को प्रदेशसभा १ बाट निर्वाचित भएका इन्द्रजित चौधरी बहालवाल मन्त्री छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनी लुम्बिनी प्रदेशको स्वास्थ्य,जनसंख्या तथा परिवार कल्यान मन्त्री हुन्, उनी पहिलो पटक मन्त्री भएका ब्यक्ती हुन् । त्यस्तै दाङ क्षेत्र नं. २ को प्रदेशसभा १ बाट निर्वाचित सांसद शंकर पोखरेल लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत भए । तर,बीचमा माओवादी केन्द्र र एमालेबीचको एकता टुटेपछि उनको सरकार पनि ढलेको थियो । त्यसपछि माओवादी केन्द्र कुलप्रसाद केसीको नेतृत्वमा प्रदेश सरकार बनेपछि पोखरेल प्रमुख प्रतिपक्ष संसदीय दलका नेताका रुपमा छन् ।

त्यस्तै दाङ क्षत्र नं.३ को प्रदेशसभा ‘क’बाट निर्वाचित सांसद डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री भएका छन् । उनी २०७० सालको निर्वाचनमा समानुपातिक सांसद थिए । त्यतिबेला संघीय सरकारको श्रम राज्य मन्त्री समेत भएका थिए । काँग्रेसबाट निर्वाचित रहेका चौधरीकै नेतृत्वमा लुम्बिनी प्रदेशमा काँग्रेस सरकारमा गएको छ ।

त्यस्तै दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ को उपनिर्वाचनबाट निर्वाचित सांसद विमला कुमारी खत्री(वली)पनि राज्य मन्त्री भइसकेकी छिन् । केही दिन अघि मात्रै उनी विवादित भएपछि राजीनामा दिएको र त्यो स्वीकृत भएको मुख्यमन्त्री कुलप्रसाद केसीले बताएका छन् । विमलाले भने आफूले राजीनामा नदिएको बताएकी छिन् । उनका श्रीमान उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनबाट तत्कालिन नेकपाले विमला वलीलाई उम्मेदवार बनाएर विजयी बनाएको थियो । त्यसपछि नेकपा फुटेपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् । उनले माओवादी केन्द्र रोजेपछि तत्कालिन शंकर पोखरेलको सरकार परिबर्तन गर्न महत्वपूर्ण भूमिका रहेको थियो ।

त्यस्तै दाङबाट प्रदेशका समानुपातिक सांसद अर्जुन कुमार श्रेष्ठ पनि उर्जा लजस्रोत तथा सिंचाई राज्यमन्त्री भएका छन् ।

सधै शक्तिकै वरिपरि दाङ

दाङ प्रायः शक्तिकै केन्द्रमा हुन्छ । धेरै सांसद दोहोरिएर पनि मन्त्री भएका छन् । अहिलेसम्म दाङमा दर्जन बढि मन्त्री भएका छन् । संघीय सरकारमा अहिलेसम्म दाङबाट भरतमणी शर्मा, परशुनारायण चौधरी, जनकवहादुर शाह, निलाम्वर आचार्य, खुमबहादुर खड्का, महेश चौधरी, वलदेव मजगैया, युवराज ज्ञवाली, यज्ञवहादुर वुढाथोकी, कृष्ण वहादुर महरा सुशमा शर्मा, शंकर पोख्रेल, रेखा शर्मा, दिपक गिरी, डिल्ली चौधरी, मेटमणी चौधरी, हिराचन्द्र केसीलगायत मन्त्री भएका छन् । साभारः अग्रिम साप्ताहिक

May be an image of 8 people, people standing and text