किसान मल नपाएर तड्पिरहे, मेयर खेतमा रमाइरहे

दीपक बोहरा
दाङ,१५ असार । सिमसिम पानीपरिहेको थियो । तर, किसानहरुलाई पानीको प्रवाह थिएन् । मल नपाएर तड्पिरहेका किसानहरु छाता आढेर लाइनमा थिए । यो दृष्य देखियो तुलसीपुर ८ स्थित नबदुर्गा सहकारी संस्थामा ।

त्यही बाटो हुँदै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का धान दिवस मनाउन गइरहेका थिए । मल नपाएर छटपट्टिरहेको समयमा चिल्ला गाडीमा सरर रोपाइमा मनाउन जाँदै गरेका मेयरलाई देखेर किसानहरुले लज्जाबोध गरिहेका थिए । मेयर तुलसीपुर उपमहानगरपालिका वडा नं. १ देविस्थनमा धान दिवसमा रमाईरहदा किसानहरु भने मलकालागि लाईनमा थिए ।‘असार १५ आईसक्यो, अझै रोपाई गर्ने सुरसार छैन, अहिलेसम्म हामी मलको लाईनमै छौं’, तुलसीपुर ८ निवासी किसान कृष्णप्रसाद भण्डारीले भने‘ अहिलेसम्म पनि स्थानीय सरकारले पनि पहल गर्न नसक्नु दुःखद हो ।’

सीमित मल आएको थियो । त्यसैले एक बोरा (५० केजी)लाई ४ जनाले बाँड्नु पर्ने थियो । त्यही अनुसार नागरिकता लिएर मलको लाईनमा थिए । तर, पनि त्यसकालागि लामबद्ध रुपमा लाइन लाग्नु पर्ने अबस्था थियो ।“विहानै आएको, भित्र नागरिकता दिएको २ घण्टा भइसक्यो’, किसान रुपलाल घर्तीले भने‘तर, पनि अहिलेसम्म मल पाउन सकिएको अबस्था छैन ।’ एउटाको भागमा साढे २ लम्बर पर्ने र त्यसले ४ कठ्ठा जग्गामा मात्रै पुग्ने उनको भनाई थियो । जग्गा धेरै हुनेहरुकालागि त्यत्ति मलले नपुग्ने भएकाले पनि किसानहरु समयमै रोपाई नहुँने कुरामा चिन्तित बन्ने गर्छन् ।

यसरी किसानहरुले पीडा सुनाईरहदा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले भने किसानका खेतमा पुगेर रमाईरहेका थिए । किसानहरुलाई त्यो आफूहरुलाई मजाक उडाइरहेको अनुभूति भएको थियो । जहाँ रोपाई गर्न गएको त्यहाँकै किसानहरुले आफूहरुले मल नपाएर समस्यामा परेको बताएका थिए ।‘मेयरसावहरु आउनु भयो एकातिर खुसी लागेको छ, तर, अर्को तिर हामीले मल पाएका छैनौं, त्यसले साह्रै समस्या बनाईरहेको छ’, किसान दीपक न्यौपानेले भने‘ मल नपाउँदा आफूहरुले कृषिको मल भन्दा पनि बजारमा पाइने मलले काम चलाईरहेका छौं ।’


बजारमा पाइने मललाई दुईहजार आठसय रुपैँया तिरेर ल्याएको उनी बताउछन् । उनका अनुसार कृषिको डीएपी मल दुई हजार पाँचसयमा पाइन्छ । त्यसमा पनि बजारमा पाईने मलमा युरियाको मात्रा बढि हुने भएकाले त्यसले धानमा पनि समस्या बनाउने गरेको उनी बताउछन् । अर्का किसान तीला न्यौपानेले पनि नेताप्रति गुनासो पोखिन् ।‘नेताहरु खेतमा त आउनु भयो, तर, मल पाईएको छैन’,उनले भनिन्‘परिश्रम गरे अनुसारको फल पाइदैन कि भन्ने अपेक्षा छ ।’

यो बर्ष रोपाई दर पनि न्यून रहेको छ । अहिलेसम्म १५ प्रतिशत मात्रै रोपाई भएको तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा प्रमुख धनराज गौतमले बताए ।‘अहिलेसम्म करिब ६० प्रतिशत रोपाई भइसक्नु पर्ने हो, तर, यस बर्ष मल पनि समयमा नआएको, ब्याड पनि तयार नभएको स्थिति छ’,उनले भने‘त्यसले गर्दा पनि यो बर्ष अहिलेसम्म १५प्रतिशत मात्रै रोपाइ भएको छ । तुलसीपुरमा १० हजार एक६६ हेक्टर क्षेत्रफलमा धान खेति हुन्छ ।

जहाँ बर्षेनी चारहजार मेट्रिकटन धान उत्पादन हुने गर्छ । प्रायः यहाँ आकासे खेतिको भरमा रोपाई हुन्छ । तुलसीपुर उपमहानगरपालिका भित्र २५ प्रतिशत क्षेत्रफलमा मात्रै सिंचाई सुविधा छ । पटक–पटक मल अभाब हुदा किसान मारमा परेको भन्दै उपमहानगरपालिका प्रमुख खड्काले तुलसीपुरमा फोहरबाट जैविक मल उत्पादन गर्ने मेसिन ल्याउन लागिएको बताए । साउन भित्रै उक्त मेसिन तुलसीपुर आइपुग्ने उनको भनाई छ ।

अबको १०–१२ दिनमा मल भित्र तुलसीपुरमा रासायनिक मल आउन लागेको कृषि सामग्री कम्पनी तुलसीपुरका प्रमुख तिर्थ न्यौपानेले बताए ।