वडाबाटै अपाङ्गता परिचय वितरण

तुलसीपुर, २५ जेठ ।

तुलसीपुर उपमहानगरपालिकाले वडाबाटै परिचय पत्र वितरण सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९को वडा कार्यालयबाटै परिचय पत्र वितरण सुरु गरिएको हो । यस अघि पालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाबाट वितरण हुँदै आएको थियो । अपाङ्ग समन्वय समितिका वडा नम्बर ९का अध्यक्ष छवि भण्डारीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खडकाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा नगर प्रमुख खडकाले सामाजिक सुरक्षा भत्ता प्राप्त नगर्ने अपाङ्गता भएका व्यक्तिहरुका लागि आत्म निर्भरताका लागि बजेटमा त्यस्ता कार्यक्रम समावेश गरिने बताउनुभयो । कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य र शिक्षामा निशुल्क व्यवस्था गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले अन्य वडाहरुसंग समन्वय गरेर वडाबाटै अपाङ्गता परिचय पत्र वितरणको प्रबन्ध गरिने बताउनुभयो । कार्यक्रममा वडा नम्बर ९का वडाध्यक्ष घनश्याम ढकाल,अपाङ्ग समन्वय समिति दाङका अध्यक्ष देवा डाँगी, बसन्ता बुढा लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

तुलसीपुर उपमहानगरपालिका भित्र पछिल्लो तथ्याङ्क अनुसार एक हजार पाँच सय ५७ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । वडामा सम्पर्कमा आएकामध्ये दुई जनालाई परिचय पत्र वितरण गरिएको थियो । अन्यलाई सम्बन्धित अस्पतालमा थप परीक्षणका लागि पठाइएको महिला विकास शाखाका प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।