दाङमा स्थानीय निर्वाचनको इतिहास : कहिल्यै काँग्रेस, कहिल्यै एमालेको ‘राज’

दीपक बोहरा
दाङ,१९ जेठ । स्थानीय स्तरमा दाङमा कहिल्यै काँग्रेस हावी हुने गरेको छ, भने कहिल्यै एमाले हावी हुने गरेको छ । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा ४१ निकायमध्ये तत्कालिन तुलसीपुर र त्रिभुवन(हाल घोराही) नगरपालिकासहित ३६ स्थानीय तहमा जित हात पार्न सफल भएको थियो । त्यतिबेला एमाले र राप्रपाले २/२ तथा जनमोर्चाले एउटा स्थानीय निकायमा जित निकालेको थियो ।

त्यो नतिजा २०५४ सालको स्थानीय निकायको निर्वाचनमा भने उल्टिएको थियो । २०४९ मा कमजोर देखिएको एमालले २०५४ मा भने कब्जा जनाएको थियो । त्यतिबेला ४१ स्थानीय निकाय मध्ये तुलसीपुर र त्रिभुवन(घोराही) नगरपालिकासहित ३१ मा जित निकालेको थियो । काँग्रेस त्यतिबेला निकै कमजोर बनेको थियो । जतिबेला ६ वटा मात्रै स्थानीय निकायमा जित निकालेको थियो । स्वतन्त्रले २ र राप्रपाले २ वटा स्थानीय निकायमा जित निकालेको थियो ।

मुलुक संघीयतामा गएसंगै दाङमा १० वटा स्थानीय तहमात्रै भए । अधिकार सम्पन्न स्थानीय तहको २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि दाङमा एमाले हावी भयो । घोराही र तुलसीपुर उपमहानगरपालिकासहित ६ स्थानीय तहमा एमालेले जित निकाल्यो । लमही नगरपालिका, गढवा, बबई र दंगीशरण गाउँपालिकामा एमालेले जितेको थियो । ति स्थानीय तहमा प्रमुख र उपप्रमुख दुबै पदमा विजयी हाँसिल गरेको थियो, भने दंगीशरण र लमहीमा प्रमुख मात्रै जितेको थियो ।

काँग्रेसले तीन वटा गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै जित्न सफल भएको थियो । शान्तिनगर, राप्ती र राजपुर गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो भने लमही नगरपालिका र दंगीशरण गाउँपालिकामा उपप्रमुख मात्रै जित्न सफल भएको थियो । माओवादी केन्द्रले भने बंगलाचुली गाउँपालिकामा प्रमुख र उपप्रमुख जित्न सफल भएको थियो ।

अहिले २०७९मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले घोराही र तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ, भने राप्ती गाउँपालिकाको उपप्रमुख जितेको छ ।

त्यस्तै माओवादी केन्द्रले बंगलाचुली, राप्ती र गढवा गाउँपालिकामा प्रमुख मात्रै जितेको छ । त्यो बाहेक अन्य सबैमा काँग्रेसले जित हात पार्न सफल भएको छ । यो निर्वाचनमा सबै भन्दा बढि काँग्रेसले स्थानीय तहमा जित निकालेको छ ।

तुलसीपुर उपमहानगर: ०५४ यता एमालेकै राज
तुलसीपुरमा २०४९ सालमा काँग्रेस हावी थियो । तर, २०५४ यता एमाले हावी बन्दै गएको छ । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन तुलसीपुर नगरपालिकामादकाँग्रेसका शंकर प्रसाद आचार्य मेयर थिए, भने काँग्रेसकै प्रदीपबहादुर शाह उपमेयर थिए । त्यतिबेलाका फुलवारी,टरिगाउँ,उरहरी, पवननगर, हलवार, विजौरी,डुरुवा र मानपुर गाबिसहरु गाभिएर तुलसीपुर उपमहानगरपालिका बनेको छ । ०४९ सालमा नगरपालिकासहित गाविसमा काँग्रेसले प्रमुख र उपप्रमुखमा विजेता बनेका थियो ।

२०५४ मा भने नतिजा उल्टिएको थियो । तत्कालिन तुलसीपुर नगरपालिकाको मेयरमा ढुण्डीराज लामिछाने, र उपमेयरमा घनश्याम पाण्डे निर्वाचित भए । फुलवारी,टरिगाउँ, उरहरी, पवननगर, हलवार, विजौरी,डुरुवा र मानपुर गाबिसहरुमा पनि एमालेले नै जित्यो ।
मुलुक संघीयतामा गएसंगै २०७४ सालमा तत्कालिन नगरपालिका तथा फुलवारी,टरिगाउँ, उरहरी, पवननगर, हलवार, विजौरी,डुरुवा र मानपुर गाबिस गाभिएर उपमहानगरपालिका बनेको थियो । त्यतिबेला एमालेले नै जित हात पारेको थियो । तत्कालिन अबस्थामा एमालेका घनश्याम पाण्डे मेयर भएका थिए, भने उपमेयरमा माया आचार्यल विजयी हाँसिल गरेकी थिइन् । पाण्डे २०५४ सालमा २३ बर्षमै उपमेयर बनेका थिए ।

अहिले २०७९ मा पनि तुलसीपुर उपमहानगरपालिकामा एमालेले नै मेयर र उपमेयर जित्न सफल भएको छ । मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी निर्वाचित भएकी छिन् ।

घोराही : २०५४ यता एमालेकै राज
घोराहीमा पनि २०४९ को निर्वाचनमा काँग्रेस हावी भएको थियो, भने २०५४ यता एमाले हावी हुँदै आएको छ । घोराही (तत्कालिन त्रिभुवन नगरपालिका) मा २०४९ सालमा मेयरमा काँग्रेसका यज्ञबहादुर बुढाथोकीले जितेका थिए, भने उपमेयरमा अर्जुन कुमार श्रेष्ठले जितेका थिए । त्यस्तै हाल घोराही उपमहानगरपाकिामै गाभिएका हापुर, लक्ष्मीपुर,रामपुर, धर्ना,नारायणपुर, ढिकपुर, सौडियार पनि काँग्रेसले नै जितेको थियो भने सैघामा भने एमालेले जितेको थियो ।

२०५४ सालमा घोराही (तत्कालिन त्रिभुवन नगरपालिका) मा घोराहीमा एमालेले कब्जा जमायो । मेयरमा एमालेका अमरबहादुर डाँगी र उपमेयरमा उपमेयरमा दामोदर शर्मा अधिकारी विजयी भएका थिए । त्यस्तै धर्नामा काँग्रेसले जितेको थियो भने, हापुर, लक्ष्मीपुर,रामपुर, सैघा, नारायणपुर, ढिकपुर, सौडियारमा एमालेले जितेको थियो ।
मुलुक संघीयतामा गएपछि घोराहीमा घोराही(त्रिभुवन नगरपालिका)सहित हापुर, लक्ष्मीपुर,रामपुर, धर्ना,नारायणपुर, ढिकपुर, सौडियार मिसाएर घोराही उपमहानगरपालिका बनाईएको थियो । त्यो उपमहानगरपालकामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका नरुलाल चौधरी मेयरमा निर्वाचित भएका थिए, भने उपमेयरमा सिता सिग्देल न्यौपाने विजयी भएकी थिईन ।
हाल २०७९ सालमा भएको निर्वाचनमा पुनः नरुलाल चौधरी विजयी भएका छन्, भने उपप्रमुखमा हुमा डीसी विजयी भएकी छिन् । मेयर चौधरी २०५४ सालमा भएको स्थानीय निर्वाचनमा पनि रामपुर गाबिसको अध्यक्ष थिए ।

लमही नगरपालिकाः
सतबरिया,सोनपुर,चैलाही र हाँसिपुर मिलेर लमही नगरपालिका बनेको हो । २०४९ सालको स्थानीय निर्वाचनमा एमालेले हाँसिपुर गाबिसमा जितेको थियो । त्यो बाहेक अन्य तीन वटा गाबिसमा काँग्रेसले जितेको थियो । २०५४ सालमा सतबरियामा काँग्रेसले जितेको थियो भने सोनपुर र चैलाहीमा एमालेले जितेको थियो । २०७४ सालमा लमही नगरपालिकाको प्रमुखमा एमालेले जितेको थियो, भने उपप्रमुखमा काँग्रेसले जितेको थियो । २०७९ सालमा भने दुबैमा काँग्रेसले जितेको छ ।


दंगीशरणः कहिल्यै काँग्रेस, कहिल्यै एमाले
संघीयता पछि गोल्टाकुरी, हेकुली र श्रीगाउँ गाबिस मिलाएर दंगीशरण गाउँपालिका बनाईएको हो । २०४९ सालमा यी तीन वटै गाबिस काँग्रेसले जितेको थियो । २०५४ सालमा फेरी यी गोल्टाकुरी स्वतन्त्रले जित्न सफल भएको थियो, भने अन्य दुई गाबिस एमालेले जितेको थियो । २०७४ सालमा दंगीशरण गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेसले जितेको थियो । अहिले २०७९ मा भने दुबै पदमा काँग्रेसले जित्न सफल भएको छ ।

शान्तिनगर : काँग्रेसकै गढ
धनौरी, शान्तिनगर र बाघमारे मिलेर शान्तिनगर गाउँपालिका बनेको हो । २०४९ सालमा शान्तिनगरमा यी तीन वटै गाबिसमा काँग्रेसले जितेको थियो । २०५४ सालमा शान्तिनगर र बाघमारेमा काँग्रेसले नै जित्न सफल भएको थियो, भने धनौरीमा एमालले जितेको थियो । संघीयता पछि २०७४ सालमा भएको निर्वाचनमा शान्तिनगरमा काँग्रेसले नै जितेको थियो, भने २०७९ सालमा भएको निर्वाचनमा पनि काँग्रेसले नै जितेको छ ।

बबईः ०४९ मा फर्कियो काँग्रेस
पुरन्धारा र पञ्चकुले गाबिस मिलेर बबई गाउँपालिका बनेको हो । २०४९ सालमा यी दुबै गाबिसमा काँग्रेसले जितेको थियो । २०५४ सालमा भने त्यो नतिजा उल्टिएको थियो । त्यतिबेलाको निर्वाचनमा दुबै गाबिस एमालेले जितेको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकामा एमालेले जितेको थियो । तर, २०७९ मा त्यो नतिजा उल्टियो । त्यहाँ काँग्रेसले जित्न सफल भएको छ ।

गढवा : हरायो राप्रपा, झुल्कियो माओवादी
गोबरडिहा, गढवा,गंगापरस्पुर र कोइलाबास मिलाएर गढवा गाउँपालिका बनाईएको हो । २०४९ सालमा गोबरडिहा र कोइलाबासमा राप्रपा तथा गढवा र गंगापरस्पुरमा काँग्रेसले जितेको थियो ।

त्यस्तै २०५४ सालमा गोबरडिहामा एमाले, गंगापरस्पुरमा स्वतन्त्र कोइलाबासमा राप्रपाले जितेको थियो । २०७४ सालमा एमालेले जितेको थियो । त्यतिबेला सहजराम यादवले विजयी हाँसिल गरेका थिए । उनी गोबरडिहा गाविसको २०५४ सालमा पनि अध्यक्ष भएका थिए । अहिलेको निर्वाचनमा पनि उनी त्यो गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार भएपनि हार ब्यहोरे । अहिले माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ, भने उपाध्यक्षमा काँग्रेसले विजयी हाँसिल गरेको छ ।

राजपुरमा काँग्रेसकै राज
संघीयता पछि बेला र राजपुर मिलाएर राजपुर गाउँपालिका बनेको थियो । यी दुबैमा २०४९ सालको निर्वाचनमा काँग्रेसले जितेको थियो । २०५४ सालमा राजपुरमा एमालेले जितेको थियो, भने बेलामा काँग्रेसले जितेको थियो । २०७४ सालमा राजपुर गाउँपालिकामा काँग्रेसले जितेको थियो, भने अहिलेको निर्वाचनमा पनि राजपुरमा काँग्रेसले नै जितेको छ ।

बंगलाचुलीः माओवादीको ‘कब्जा’
संघीयता पछि काभ्रे, लोहारपानी, स्यूजा र हाँसिपुरका केही वडा मिलाएर बंगलाचुली गाउँपालिका बनाईएको थियो । २०४९ सालमा भएको स्थानीय निर्वाचनमा काभ्रे र स्यूजामा काँग्रेसले, लोहारपानीमा जनमोर्चा तथा हाँसिपुरमा एमालेले जितेको थियो ।

त्यस्तै २०५४ सालमा हाँसिपुर र लोहारपानीमा एमाले, काभ्रेमा काँग्रेस, स्यूजामा राप्रपाले जितेको थियो ।
त्यस्तै २०७४ सालमा यी गाविस मिलेर बनेको बंगलाचुलीमा माओवादी केन्द्रले जितेको थियो । अध्यक्षमा जितेका भक्तबहादुर वलीले २०४९ सालमा लोहारपानीमा जनमोर्चाबाट जितेका थिए, भने २०५४ सालमा एमालेबाट जितेका थिए । अहिले २०७९ सालमा भएको निर्वाचनमा अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन र उपाध्यक्षमा काँग्रेसका भक्तबहादुर जीसीले जितेका छन् ।

राप्ती : काँग्रेस, एमाले र माओवादीको पालोपालो सत्ता
मुलुक संघीयतामा गएपछि २०७४ सालमा लालमटिया, सिसहनिया र हाँसिपुरको १ र २ नम्बर वडालाई मिलाएर राप्ती गाउँपालिका बनाईएको थियो । २०४९ सालको स्थानीय निर्वाचनमा लालमटिया र सिसहनियामा काँग्रेसले जितेको थियो भने, २०५४ सालमा दुबै गाबिसमा एमालेले जितेको थियो । २०७४ मा काँग्रेसले जितेको थियो भने २०७९ सालमा अध्यक्षमा माओवादीले जितेको छ, भने उपाध्यक्षमा एमालेले जितेको छ । साभारः अग्रिम साप्ताहिक

May be an image of text that says '២ अगिम स्वाधीनता,समृद्धि समाजवादको यात्रा www.livedang.com सबै समाचार LIVE DANG.COM साप्ताहिक WEEKLY www.livedang.com सोमबार (Agrim Weekly, Monday 2022) पृष्ठ६ दीपकबोहरा/दाड सहावी दाडमा स्थानीय निर्वाचनको इतिहास कहिल्यै काँग्रेस, कहिल्यै एमालेको 'राज' (स्थानीयतह विभाजन) रर्जपुर उपमहानगर पृष्ठमा... मता समाचार मालमा www.livedang.com'

May be an image of 8 people and text