घोराही, २४ बैशाख ।
नेकपा एमाले दाङ काठमाडौं सम्पर्क मञ्चले नेकपा एमाले दाङलाई चुनाव प्रचार सामग्री हस्तान्तरण गरेको छ । एमाले दाङ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष तेजबहादुर बस्नेतको अध्यक्षता तथा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको विशेष उपस्थितिमा एक कार्यक्रम गरि आज उक्त सामग्री हस्तान्तरण गरेको हो ।
स्थानीय तह निर्वाचनमा नेकपा एमालेको पक्षमा जनलहर बढेको बेला निर्वाचनलाई थप एमालेमय बनाउन पार्टीको झण्डा, क्यालेन्डर, घोषणा पत्रलगायत चुनावी सामग्री जिल्ला कमिटीलाई हस्तान्तरण गरिएको छ । राष्ट्रियता, देशको विकास, स्थायित्वका सवालमा आम नेपाली नागरिकको भरोसा एमाले पार्टी हुँदै गएको बेलामा सम्पर्क मञ्चमा आवद्ध भएकाहरु गाउँ फर्क र एमालेलाई सबै वडा र पालिकामा अत्यधिक मतले विजयी बनाऔ अभियान सफल बनाउन खटिएको छ ।
कार्यक्रममा सम्पर्क मञ्चका अध्यक्ष बस्नेतले मेरो वडा म जिताउछु भन्ने मुल नारा लिएर आफुहरु जिल्लामा फर्किएको बताउँदै गाउँ, टोल तथा बस्ती बस्तीमा पुगेर नेकपा एमालेको पक्षमा मत हाल्न मतदाताहरुलाई पार्टी र उम्मेदवारको घोषणा तथा प्रतिवद्धता पत्रका बारे सुसूचित गराउने गरि खटिएको जानकारी गराउनुभयो । आफुहरु जिल्लामा ल्याएको निर्वाचन सामग्रीमा पनि एमालेले गरेका राम्रा काम तथा योजनाहरु मतदाता समक्ष बृहत् ढंगले लैजाने भएको उहाँको भनाई थियो ।
कार्यक्रममा एमाले जिल्ला सचिव मनोहर बुढाथोकीले गाउँ टोलमा पुगेर मतदाता र पार्टीको बिचमा सम्बन्ध थप बलियो बनाउन दाङ काठमाडौं सम्पर्क मञ्चलाई पुलको काम गर्न अपिल गर्नुभयो । कार्यक्रमको सहजीकरण मञ्चका सचिव कमानसिंह आरसीले गर्नुभएको थियो ।
लाइभदाङ । २४ बैशाख २०७९, शनिबार १४:५९ बजे