एमालेले जिते महिलाको पाठेघर र स्तन क्यान्सरको निःशुल्क चेकजाँच

दाङ, २३ बैशाख ।

नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका मेयरका उमेदवार टिकाराम खड्काले आफूले जिते महिलाको पाठेघर र स्तन क्यान्सरको निःशुल्क चेकजाँचको व्यवस्था गर्ने बताएका छन् ।


वडा नम्बर १४ ले ड्वाङपुरमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘एमालेलाई चुनाव जिताउनुस् हामीले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरेर देखाउँछौँ ।’ खड्काले भने–‘हामीलाई चुनाव जिताउनु भयो भने महिलाको पाठेघर र स्तन क्यान्सरको निःशुल्क चेकजाँच गर्ने व्यवस्था मिलाउँछौ ।’

एमालेले मात्रै तुलसीपुरको मुहार फेर्न सक्ने भन्दै उनले तुलसीपुर उपमहानगरपालिका भित्र विद्युतका तार अन्डरग्राउन्ड गरेर कुरूप तुलसीपुरलाई स्मार्ट बनाउने बताए । चुनावी सभालाई सम्बोधन गर्दै उमपेयरकी उमेदवार स्यानी चौधरीले आफूले चुनाव जिते न्याय र सुशासनमा तुलसीपुर उपमहानगरलाई देशमै नमुना बनाउने बताइन् । उनले सरकारी विद्यालयको गुणस्तर बढाउने समेत प्रतिबद्धता समेत जनाएकी छन् ।