दाङ,२० बैशाख ।
दाङमा कुवा खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका एक जनाको शव तीन दिनपछि निकालिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ साझकुटीमा डिल्ली बहादुर रोकाको घरमा कुवा खन्ने क्रममा पुरिएका तुलसीपुर-१७ जमेराका २४ वर्षिय हरि चौधरीको शबलाई तीन दिनपछि निकालिएको हो ।
चौधरीलाई आइतबार बिहान साढे ११ बजेतिर कुवा खन्ने क्रममा ४० फिट गहिरो कुवामा माथिबाट आएको ढिस्कोले पुरेको थियो । गहिरो ठाउँमा पुरिएको हुँदा दुई वटा जेसिबी, एउटा स्काभेटरसहित नेपाल प्रहरी र म्यादी प्रहरीको टोलिले मंगलबार (आज) बिहान ११ बजेमात्रै चौधरीलाई मृत अवस्थामा निकालिएको हो ।
कुवाबाट निकाल्नका लागि दुई वटा जेसिबी र एउटा स्काभेटर प्रयोग गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । शबलाई अहिले राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । मृतक चौधरी एक छोरा, एक छोरी र श्रीमती रहेका छन् । पोष्टमार्टमपछि शब आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
लाइभदाङ । २० बैशाख २०७९, मंगलवार १२:५३ बजे