घोराहीको विकास मोडेल : पिउनलाई पानी छैन, नाच्नलाई नाचघर

दाङ
५ बैशाख/ भन्निछ विकास जनताको आवश्यक्ता र माग बमोजिम हुनपर्छ । जनताको दैनिक जीवनयापनमा सहजता ल्याउने खालको विकास हुनपर्छ । तर दाङको घोराही उपमहानगरपालिकामा भने यस्को उल्टो भएको छ । घोराही उपमहानगरपालिका १८ मा रहेको घोडदौरा विकासका आधारभुत पूर्वाधारबाट वञ्चित छ । स्थानीयलाई खानेपानीका लागि २ घण्टा टाढा टाढा गाग्री बोकेर जानुपर्ने अवस्था छ । शिक्षा , स्वास्थ्यका लागि घोराही बजार नपुगी सुःख छैन् । तर ५ वर्षका लागि अधिकार सम्पन्न स्थानीय तहको जिम्मेवारी घोराही उपमहानगरपालिकाको जिम्मेवारी सम्हालेको एमाले सरकारले नमुना विकासका रुपमा यहाँका स्थानीयलाई पिउने पानी भन्दा नाच्नका लागि ‘साँस्कृतिक डबली’ को निर्माण गरिदिएको छ ।

बौद्धिक नेताको विकासे योजना
अझ रोचक कुरा त के छ भने नाचघरका लागि घोराही सरकारले समन्वय गरेको मात्र हो । एमालेभित्र वैचारिक र बौद्धिक नेताका रुपमा चिनिएका महासचिव शंकर पोख्रेल तत्कालिन लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा यस्तो लाजमर्दो योजना अघि बढाएका थिए । उनी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले नै घोडदौरामा साँस्कृतिक डबली निर्माणका लागि बहुवर्षिय योजना अन्तर्गत ११ करोड लाग्ने गरी डिपीआर तयार गरिएको थियो । जसअन्तर्गत हालसम्म करिब २ करोड खर्च भइसकेको छ । २०७६ साल फागुन १२ गते नाचघरको उदघाटन गर्दै पोख्रेलले भनेका थिए । ‘ डबली संगै घोडदौरामा विकासका अन्य पुर्वाधारको पनि शुरुवात हुनेछ । खानेपानी , शिक्षा, रोजगार, सबै यही गाउँमा उपलब्ध हुनेछ ’ । तर २ वर्ष बितिसक्दा शिक्षा, स्वास्थय , खानेपानीका उपलब्धता त भएन नै करौडो खर्च गरेर बनाएको नाचघर समेत हाल आएर गाइवस्तुका लागि चरिचरन क्षेत्रका रुपमा परिणत भएको छ ।

नाच घरका लागि ९७ लाख रुपैयाँ र त्यसैमा शौचालय निर्माण गर्न ५० लाख बजेट बिनियोजन गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसी बताउँछन् । ‘नाचघरका लागि पहिलो वर्ष ९३ लाख र दोस्रो वर्ष ५० लाख थप गरी कुल एक करोड ४३ लाख बजेट खर्च छुट्टाइएको थियो । कुल रकममध्ये निर्माण कम्पनीलाई एक करोड २० लाख भुक्तानीसमेत भइसकेको छ,’ उनले भने ।


नाच घरले पानी पायो, जनताले के पाए ?
नाचघर निर्माणका लागि एमाले सरकारको मोह यति सम्म नि सिमित भएन । निर्माण कार्यका लागि पानीको आवश्यक्ता पर्ने भएपछि घोराही बजारबाट ट्याँकरमा पानी बोकेर घोडदौरा पुर्याइयो । यतिका वर्षसम्म खानेपानीको सुविधाबाट वञ्चित रहेका घोडदौरावासीले पहिलोपटक पानीको ट्याँकर गाउँमै देख्न त पाए तर त्यो उनीहरुका लागि थिएन । नाचघर जतिक्कै खानेपानी र शिक्षा स्वास्थयमा ध्यान दिएको भए आफुहरुले हालसम्म पनि यति दुःख पाउनु नपर्ने घोडदौरा की स्थानीय सीता पुन बताउछिन । ‘हामीलाई पिउने र वस्तुभाउलाई खुवाउने पानी छैन । डबलीको के काम ?’ उनी भन्छिन ‘ नाचघरले पानी पायो । हामीले के पायौं ?

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भने विकास चौतर्फी हुनुपर्ने बताए ।सोही अनुसार सांस्कृति संरक्षण गर्न नाच घर निर्माण गरेको बताए ।