पाँच बर्षमा कस्तो रह्यो तुलसीपुरको शिक्षा ?

तुलसीपुर
९ वैशाख /  तुलसीपुर उपमहानगरपालिकाले पाँच बर्षमा शिक्षामा प्रभाबकारी काम गरेको छ । सामुदायिक विद्यालय मर्ज, आफ्नै प्राबिधिक शिक्षालय सञ्चालन, प्राबिधिक शिक्षामा जोड, स्थानीय पाठ्यक्रम निर्माणलगायतमा महत्वपूर्ण काम गरेको छ । कुनै समय प्राबिधिक शिक्षाकै लागि बाहिर जानुपर्ने अबस्था थियो । तर, अहिले त्यो अबस्था अन्त्य भएको छ ।

तुलसीपुरमै प्राबिधिक शिक्षा पढाई हुन थालेपछि बाहिरी जिल्ला जानेक्रम रोकिएको छ । पहिलेको भन्दा शिक्षामा सुधार भएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए । उनका अनुसार प्राबिधिक शिक्षा सञ्चालनकालागि सामुदायिक विद्यालयलाई अनुदान स्वरुप १० लाख रुपैँया दिने नीति लिए संगै यसरी विद्यालयहरुले प्राबिधिक शिक्षा सुरु गरेका हुन् ।

तुलसीपुरका ७ वटा सामुदायिक विद्यालयले एकै पटक प्राबिधिक बिषयको अध्यापन सुरु गरेका हुन् ।‘अहिले जुनसुकै प्राबिधिक विषय अध्ययन गर्न पनि बाहिर जानुपर्ने अबस्था छैन’,उनले भने‘प्राबिधिक विषय अध्यापन गराउने शिक्षालयको संख्या पाँच बर्षमा आश्चर्य लाग्दो तरिकाले बढेको छ ।’

प्राबिधिक शिक्षालाई थप प्रभाबकारी बनाउन आफ्नै प्राबिधिक शिक्षालय पनि उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको छ । जहाँ अहिले डिप्लोमा स्तरका पाँचवटा कार्यक्रम सञ्चालन भइरहेका छन् । मेकानिकल इञ्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रिोनिक्स इन्जिनियरिङ, फुड एण्ड डेरी टेक्नोलोजी, प्लान्ट साइन्स र फरेष्ट्रिका साथै प्रिडिप्लोमा तहमा आइटी अध्यापन भइरहेको छ ।

साथै कलेजले लुम्बिनी बौध विश्वविद्यालयसंगको साझेदारीमा विएएलएलवी कार्यक्रम समेत सञ्चालन भइरहेको छ । यो कार्यको अहिले देशभर नै सिको गरिरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।‘हामीले शिक्षामा गरेका कामहरु उदाहरणीय छन्’,उनले भने‘यी कामको देशभरका स्थानीय तहहरुले सिको गरिरहेका छन् ।’ कम विद्यार्थी भएका विद्यालयहरुलाई नजिकको विद्यालयमा मर्ज भएपछि शैक्षिक स्तर पनि सुधार भएको छ ।


त्यस्तै प्रधानाध्यापक र शिक्षकसंग कार्यसम्पादन सम्झौता गरेर विद्यालयप्रति थप जिम्मेवार बनाउने कार्य पनि भयो । त्यस्तै विद्यार्थीहरुको सिकाई बुझ्नकालागि प्रत्येक विद्यालयमा पुगेर असर सम्बन्धि समेत खोजीगर्ने कार्य भएको थियो । शिक्षक सुरुवा र प्रधानाध्यापक व्यबस्थापनकालागि कार्यविधि समेत निर्माण भएको छ । कोरोनाको समयमा सामुदायिक विद्यालयका शिक्षकहरुलाई उत्प्रेरित गर्नकालागि पालिकाले सबैका कोरोना विमा समेत गराएको छ ।

त्यस्तै विद्यालयको पूर्वाधार निर्माणमा पनि उपमहानगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको शिक्षा महाशाखा प्रमुख भण्डारीले बताए । जनता क्याम्पस, राप्ती बबई क्याम्पसलगायत दर्जनबढि सामुदायिक विद्यालयको पूर्वाधार निर्माण भएका छन् । त्यस्तै अहिले सामुदायिक विद्यालयका कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला पनि ब्यबस्थित भएको उनले बताए ।

पाठ्यक्रम निर्माणको काम अघि बढ्यो
तुलसीपुर उपमहानगरपालिकाको पाठ्यक्रम निर्माणको कामलाई अघि बढाएको छ । आउदो शैक्षिकशत्रदेखि कक्षा ८ सम्म स्थानीय पाठयपुस्तक लागु गर्ने गरी निर्माणको काम भएको छ । त्यसतै मगर भाषामा अध्यापनलाई पालिकाले सुरुवात गरेको छ । त्यस्तै केही सामुदायिक विद्यालयलाई अंग्रजी माध्यामबाट अध्यापन गराईरहेको छ ।

त्यस्तै तुलसीपुरका १० वटा विद्यालयमा टिचफर नेपालका शिक्षकहरु परिचलान गरे शिक्षा प्रदान गरिएको छ ।