स्थानीय निर्वाचन : चर्चामा दाङका दुई उपमहानगर

दीपक बोहरा
दाङ,२८ चैत । दुइवटा उपमहानगरपालिका भएको दाङमा स्थानीय निर्वाचनलाई उत्तिकै चासोका साथ हेरिन्छ । प्रभाबशाली नेताहरु माओवादी केन्द्रका प्रबक्ता कृष्णबहादुर महरा, एमालेका महासचिब शंकर पोखरेल, काँग्रेसका नेता दिवंगत खुमबहादुर खड्काको जिल्ला भएकाले पनि यहाँको निर्वाचनलाई निकै चासोका साथ हिरिनु स्वभाविकै पनि छ ।

अहिले चिया पसलहरु चुनाबी गफले भरिएका हुन्छन् । पार्टी कार्यालयहरुको चहल पहल निकै हुन्छ । नेताका घरहरुमा कुनै चाडपर्व भन्दा कम हुँदैन ।खासगरि दाङको तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकालाई बढि चासोका साथ हेरिएको छ । बैशाख ३० गते हुन लागेको निर्वाचनमा सत्तापक्ष गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । २०७४ सालको निर्वाचनमा दुईवटै स्थानीय तह एमालेले विजयी हाँसिल गरेको थियो । यी दुई उपमहानगरपालिकामा कसले टिकेट पाउने भन्ने विषयमा बहसहरु भइरहेका छन् ।

एमालले उम्मेदवारलाई अन्तिम रुप दिने तयारी गरेपनि सत्तापक्ष गठबन्धनले भने केन्द्रको निर्णय पर्खिरहेको छ । दाङका १० वटा स्थानीय तहमध्ये कुन स्थानीय तह कुन पार्टीले पाउने भन्ने कुराको टुंगो नलाग्दा अझै उम्मेदवारहरुको निष्कर्षमा पुग्न सकेको अबस्था छैन । तर, उम्मेदवारीकालागि नेताहरुले आ–आफ्नो दावी भने प्रस्तुत गरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी नै मेयरको उम्मेदवारीकालागि बढि चर्चामा छन् ।

उनका नातेदार भाई समेत रहेका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरी संघमा लड्ने र गेहेन्द्र उपमहानगरमा लड्ने गरि सहमति भएको काँग्रेसका एक नेताले बताए । गिरी दाजुभाईले आ–आफ्नो गुट चलाउँदै आएका छन् । दिवंगत नेता खुमबहादुर खड्काका विश्वास पात्र रहेका गेहेन्द्र हाल देउवा प्यानलका हुन् । जसले यस अघिको स्थानीय निर्वाचनमा पनि खड्काकै बलमा उपमहानगरपालिकाको प्रमुखमा टिकट पाएका थिए । उनी २०५४ सालका संघीय सांसद पनि हुन् ।

दीपक गिरी र उनको लामो समयदेखि गुटगट स्वार्थका कारण तुलसीपुरका हरेक निर्वाचनमा पराजय भोग्नु परेको छ । दीपक गिरी कोइराला परिवारसंग निकट ब्यक्ती हुन् । उनी शसांक कोइरालाका विश्वास पात्र मानिन्छन् ।‘तुलसीपुरमा काँग्रेस भित्रको राजनीति उनै दाजुभाईको वरिपरि घुम्न सक्छ । उनीहरुबीच एकमत नहुँदा तुलसीपुरको काँग्रेसले धेरै ठाउँमा क्षति ब्यहोर्नु परेको छ’, काँग्रेसका एक नेताले भने‘अहिले दुबैले सहमति गरेर अघि बढ्ने गरि तयारी गरेका हुन्, सोही अनुसार यो सहमति भएको बुझिएको छ ।’ गेहेन्द्रले यस अघि दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ बाट चुनाब लड्ने र मुख्यमन्त्री हुने आकांक्षा ब्यक्त गर्दै आएका थिए । तर, अहिले उनी मेयरमा लड्ने गरि छलफल अघि बढेको र लगभग सहमतिको नजिक पुगेको एक नेताले बताए । काँग्रेस भित्र अहिले मेयरकालागि छलफल हुने गरेका अन्य पात्र दिपक निकट सुरेस हमाल, विमल रिजाल तथा गेहेन्द्र निकट घनश्याम रेग्मी, नहकुल केसी, र्कीतिबहादुर खड्का पनि हुन् । तर, गेहेन्द्र उठ्ने इच्छा ब्यक्त गरेमा सबैले समर्थन गर्न सक्ने आँकलन गरिएको छ ।

दुई उपमहानगरपालिका मध्ये घोराही माओवादी केन्द्रले पाउन सक्ने र तुलसीपुर काँग्रेसले पाउने सक्ने गरि आँकलन गरिएको छ । त्यसैले पनि अहिले तुलसीपुरमा माओवादी केन्द्रमा मेयरमा खुलेर आँकांक्षा राख्ने गरेका छैनन् । यदि मेयरमा माओवादी केन्द्रले पाएमा पार्टीका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, तुलसीपुर नगर इञ्चार्ज प्रेमराज वली‘प्रभात’, केन्द्रिय लेखा आयोग सदस्य रामबहादुर दहित, पार्टीका तुलसीपुर नगर सहइञ्चार्ज चित्रबहादुर खड्का‘अनुपम’, प्रदेश कमिटि सदस्य मिना बुढा, पार्टीका नगर अध्यक्ष खुसीराम चौधरी, उपाध्यक्षहरु शान्ति महत र यज्ञबहादुर केसीको नाम चर्चामा छ ।

भण्डारी २०७४ सालको निर्वाचनमा पनि माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार थिए । अहिलेको निर्वाचनमा पनि उनी उम्मेदवारकालागि आकांक्षी रहेको बताउछन् ।‘यदि हामी(माओवादी केन्द्र)लाई मेयरको भाग परेमा मेयरमा पनि आकांक्षी छु’,उनल भने‘यदि काँग्रेसको भागमा मेयर प¥यो भने, माओवादीले उपमेयर पाउछ, उपमेयरमा पनि मेरो आकांक्षा छ ।’ आफ्नो लामो रााजनीति इतिहास भएको भन्दै यसमा पार्टीले आफूलाई न्याय गर्ने बताउछन् । मेयरका आकांक्षी प्रभात पनि आफू बलियो आकांक्षी भएको बताउछन् । उनी पूर्वजनमुक्ती सेनाका कमाण्डर पनि हुन् ।


एमालेबाट पनि बिभिन्न ब्यक्तीको चर्चा हुने गरेको छ । तर, टिकाराम खड्कानै बलियो उम्मेदवार रहेको भन्दै उनले टिकेट पाउन सक्ने आँकलन गर्न थालिएको छ । उनी पुराना नेता भएपनि सत्तामा सहभागि हुने अबसर अहिलेसम्म प्राप्त गर्न सकेका छैनन । एमालेमा विनोद शर्मा, कृष्ण भुषाल, हालका उपमेयर माया आचार्यले पनि आकांक्षा ब्यक्त गर्दैै आएका छन् । उनीहरुको नाममा पनि अहिले पार्टीभित्र चर्चा चल्दै आएको छ ।

२०७४ मा फर्किदा
तुलसीपुरमा २०७४ सालमा एमालेले विजयी हाँसिल गरेको थियो । मेयरमा एमालेका घनश्याम पाण्डेले २२ हजार ८ सय ५६ मत प्राप्त गरेका थिए, भने उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रका शेसुराम भण्डारीले ८ हजार ६ सय ९३ मत प्राप्त गरेका थिए ।

घोराहीमा पुरानैको चर्चा
गठबनधनले घोराहीमा माओवादी केन्द्रले पाउन सक्ने गरि आँकलन गरिएको छ । माओवादीले पाएको अबस्थामा २०७४ सालमा मेयरको उम्मेदवार बनेका जीवन गौतम नै पुनः उम्मेदवारका रुपमा आउने देखिन्छ । उनी पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज पनि हुन् । नारायणकाजी श्रेष्ठ निकट मानिने गौतम गिरीराजमनी पोखरेल शिक्षा मन्त्री हुँदा दाङको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा हुने गरेको छ । उनीसंगै माओवादी केन्द्रबाट हेमराज शर्मा‘डायमण्ड’को नाम पनि चर्चामा छ । उनी पार्टीका केन्द्रीय सदस्य हुन् ।

काँग्रेसबाट पनि २०७४ सालका उम्मेदवार भुपबहादुर डाँगीको बढि चर्चा हुने गरेको छ । उनी काँग्रेसको १४ औं महाधिवेशनका पार्टीका जिल्ला सभापतिका उम्मेदवार पनि हुन् । तर, उनले पछि शंकर डाँगीलाई समर्थन जनाएका थिए । घोराहीको मेयर भुपबहादुर दिने सहमति पछि उनले शंकरलाई समर्थन गरेको हुन सक्ने बुझिएको छ ।काँग्रेसबाट किशोर चन्द्र गौतम र प्रकाश श्रेष्ठको नाम पनि चर्चामा आउने गरेको छ ।

एमालेबाट हालका मेयर नरुलाल चौधरीको नाम चर्चामा छ । शंकर पोखरेलका विश्वास पात्रका रुपमा चिनिने चौधरीलाई नै दोहो¥याउने गरि चर्चा हुने गरेको छ ।
२०७४ मा घोराही
२०७४ सालको स्थानीय तहको निर्वाचनमा घोराहीमा एमालेका नरुलाल चौधरीले विजयी हाँसिल गरेका थिए । उनले २२ हजार ३० मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका भुपबहादुर डाँगीले १७ हजार ४ सय ८९ मत प्राप्त गरेका थिए, भने माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए ।साभारः अग्रिम साप्ताहिक

May be an image of text