प्रेस काउन्सिलद्वारा थारु भाषाको पत्रकार आचारसंहिता लोकार्पण

तुलसीपुर
२१ चैत / प्रेस काउन्सील नेपालले थारु भाषाको पत्रकारीत आचारसंहिता प्रकाशित गरेको छ । प्रेस काउन्सील नेपालले सोमबार दाङको घोराहीमा थारु भाषाको पत्रकारीता र आचारसंहिता विषयक गोष्ठीको आयोजना गरि पत्रकार आचारसंहिताको लोकार्पण गरेको हो ।
काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले डोटेली र भोजपुरीमा समेत आचारसंहिता बनाएको बताउनुभयो । यस अघि काउन्सीलले नेपाली, मैथली र नेपाल (नेवारी) भाषामा आचारसंहिता जारी गरिसकेको छ ।

त्यस अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफूहरुले थारु भाषालाई कामकाजीको भाषा बनाए पनि व्यबहारमा लागु गर्न चुनौती देखिएको बताउनुभयो । थारुहरुमा लेखपढमा अभ्यास नहुँदा पनि प्रयोगमा आउन नसकेको बताउनुभयो ।

उपमहानगरपालिकाले थारुभाषामा पाठ्यक्रम तयार पारेको र आगामी शैक्षिक सत्र देखि ऐच्छिकरुपमा पठनपाठनमा ल्याउने तयारी रहेको बताउनुभयो । पत्रकारकारीता क्षेत्र समाजको ऐना भएको भन्दै उहाँले यस्को मर्म र धर्मलाई बचाउन थारु भाषाको पत्रकार आचारसंहिताले ठूलो अर्थ राख्ने बताउनुभयो ।


कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भाषा संस्कृती हस्तान्तरण हुदै जानु पर्ने भए पनि लोप हुदै जान थालेको देखिएको बताउनुभयो ।
बाह्य संस्कृतीको अनुशरण गर्नुले पनि भाषा र संस्कृतीमा चुनौती थपिएको उहाँको भनाई छ ।

प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रममा दाङ सहित बाँक, बर्दिया, कैलाली, कन्चनपुरमा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको छ ।
महासंघलाई आचारसंहिता बोर्ड
प्रेस काउन्सील नेपालले नेपाल पत्रकार महासंघ दाङ शाखालाई पत्रकार आचारसंहिता बोर्ड प्रदान गरेको छ । काउन्सीलले सोमवार पत्रकार महसंघ दाङ शाखालाई पत्रकार आचारसंहिता बोर्ड र काउन्सीलले प्रकाशन गरेको पुस्तकहरू प्रदान गरेको हो ।

प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी र सचिव आरके शीतललाई पत्रकार र सञ्चारमाध्यमले देहायअनुसार कार्य गर्नुहुदैन लेखिएको बोर्ड र पत्रकार आचारसंहिता, संहिता र शैली पुस्तकहरू प्रदान गर्नुभएको थियो ।