अमृता अनमोल
बुटवल, २१ चैत्र ।
लुम्बिनी प्रदेशमा गठवन्धन दलहरुले मतको आधारमा उम्मेदवारी बाँडफाँडको तयारी गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा विगतको मतको आधार, उम्मेदवारको लोकप्रियताका आधारमा तालमेल गरेर चुनावी मैदानमा जाने अन्तिम तयारी गरिरहेको नेताहरुले बताएका छन् । लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा स्थानीय तहमा दलहरुको राजनीतिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा बोल्ने दलका नेताहरुले अहिले वडास्तरबाटै तालमेल गर्ने तयारी भएको बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरबहादुर पुनले गठबन्धन दलभित्र पार्टीहरुले आ–आफ्नो मत आधार संकलन गरिरहेको र त्यसैका आधारमा उम्मेदवारी दिने बताए । यसो गर्दा हार्ने सम्भावना नरहने लुम्बिनी प्रदेशमा गठबन्धनको जीत हुने र अत्यधिक बहुमत आउने दाबी उनले गरे । ‘गठबन्धन दलहरुले चुनावी तालमेलमा अक्षरस पालना गर्छौं । जो उठेपनि साझा उम्मेरदवार बनाउर्छौंं,’ उनले भने ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्रका संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक तुलाराम घर्तीले सत्ता गठबन्धनलाई स्थानीय मात्र नभइ अन्य निर्वाचनमा पनि निरन्तरता दिने बताए । प्रदेशका सबै स्थानीय तहहरुमा आफ्नो पार्टीले सर्कुलर गरेको र जसअनुसार पालिकामा निर्वाचन संयन्त्र परिचालन समिति गठनको छलफल भइरहेको उनले बताए ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले भने एमाले जनताको प्रिय पार्टी भएकाले जस्तोसुकै गठबन्धनले फरक नपार्ने बताए । उनले लुम्बिनी प्रदेशमा आफ्नो पार्टीले ६० प्रतिशत जित हात पार्ने दाबी गरे । प्रदेशका १ सय ९ वटा पालिकाहरुको सर्वेक्षण अनुसार यस्तो देखिएको उनको दाबी थियो ।
त्यस्तै, जनता समाजवादी पार्टी ९जसपा०का केन्द्रीय सदस्य छन्द पन्थीले ठूला दलका नेताहरुले झुटको राजनिति गर्दै आएको बताए । उनले ठूला दलको होडबाजीले गठबन्धन निर्माण भएको बताए । निर्वाचनका बेला मीठा भाषण र जनतालाई आश्वासन दिने दलहरुले निर्वाचन पश्चात् प्रतिबद्धता पूरा नगर्ने गरेको भन्दै बेइमानीको राजनीति नगर्न सुझाव दिए ।
लाइभदाङ । २१ चैत्र २०७८, सोमबार १६:२९ बजे