तुलसीपुर बजारको क्षेत्र कहाँदेखि कहाँसम्म ?

दाङ
२१ चैत /  तुलसीपुर बजार क्षेत्र कहाँदेखि कहाँसम्म हो, भन्ने कुनै चिनारी छैन । बाहिरबाट आएका हुन्, वा बजार भित्रैका मान्छेहरुलाई पनि तुलसीपुर बजार क्षेत्र कहाँदेखि सुरु हुन्छ, भन्ने कुरा थाहा छैन । तुलसीपुर उपमहानगरपालिकाले केही समय अघि बजार क्षेत्र निर्धारण गरेपनि त्यो अनुसार बोर्ड राखिएको छैन । बोर्ड नराख्दा समस्या भएको भन्दै तत्काल बोर्ड राख्नु पर्ने तुलसीपुर चेम्बर कमर्शका अध्यक्ष टोपबहादुर घर्तीले बताए ।‘बजार क्षेत्र कहाँदेखि सुरु हुन्छ, कहाँ अन्त्य हुन्छ, भन्ने केही चिनारी नहुँदा असहज भएको छ’, उनले भने‘ बजार क्षेत्रका चार किल्लामा तत्काल बोर्ड राख्नु पर्छ ।’

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलका अनुसार पूर्वमा हात्तिखौवा चोक,पश्चिममा पातुखोला, उत्तरमा दुरसञ्चार कार्यालय, दक्षिणमा मदन आश्रित चोक तोकिएको छ ।

अहिले बजार विस्तार भइसकेकालाई यो सिमानालाई बढाउन आबश्यक रहेको उनको भनाई छ । सरोकारवालाहरुको बैठकले पूर्वमा हात्तिखौवा चोक, पश्चिममा भ्याली पेट्रोल पम्प,दक्षिणमा गुमराह चोक र उत्तरमा डाँडापातुलाई सिमाना बनाउनकालागि कार्यपालिकामा सिफािरश गर्ने निर्णय भएको छ । ‘बजार क्षेत्र धेरै विकास भइसकेको छ’,उनले भने‘त्यसैले यो बढाउन आबश्यक छ ।’


बजार क्षेत्रको सिमाना चिनाउनकालागि बोर्ड राख्ने तयारी भएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताईन् । उनका अनुसार सरोकारवालासंग छलफल भएकाले केही दिनमा सिमानामा बोर्ड राख्ने तयारी भएको उनको भनाई थियो ।‘हामीले सरोकारवालासंग छलफल गरिसकेका छौं’,उनले भनिन्‘केही दिनमा बजार क्षेत्रमा बोर्ड राख्ने छौं ।’ साथै तुलसीपुर उपमहानगरपालिका प्रवेश गर्ने स्थानमा पनि बोर्ड राख्ने निर्णय भएको प्रमुख शर्माले बताईन् । साभारः अग्रिम साप्ताहिक

May be an image of outdoors and text