दुई डाक्टर: जसले विरामीको रेफर घटाउन आफैले आमाको अप्रेशन गरे

दीपक बोहरा
दाङ, १० साउन । नजिकको तिर्थ हेँला भने झै, दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल अहिले सबैको हेँलाको अस्पताल बन्ने गरेको छ । ब्याङ्ग्य गर्दै अस्पताललाई ‘रेफर’ सेन्टर भनिन्छ । सामान्य ज्वरो आउँदा पनि विरामीका आफन्तहरु सकेसम्म काठमाडौं नै उपचार गर्न जान खोज्छन्, यदि त्यसो भएन भने बाँके वा नजिककै निजि अस्पताल जान खोज्छन् । तर, विरामी र आफन्तले विश्वास गरे, प्रादेशिक अस्पतालमै राम्रो र प्रभाबकारी सेवा दिइन्छ, भन्ने सन्देश दिन खोजेका छन्, साही अस्पतालमा कार्यरत डा. प्रमिला गुप्ता र डा. रोशन गुप्ताले । उहाँहरु दिदी–भाई हुनुहुन्छ ।

आमाको प्रादेशिक अस्पतालमै अप्रेशन गर्नुभयो ।“काठमाडौं लगेर उपचार गर्ने हैसियत नभएको होईन्, हामीले हाम्रो ठाउँको अस्पताललाई विश्वास गर्न सकेनौं”, डा. प्रमिलाले भन्नुभयो“यही(तुसलीपुर मै) पनि राम्रा–राम्रा गुणस्तर मेसिनहरु छन्, चिकित्सकहरु छौं, त्यसैले यही अस्पतालमा ठूला–ठूला उपचार हुन्छन्, भन्ने सन्देश दिन हामीले आमाको अप्रेशन प्रादेशिकमै गरेका हौं ।”

डा. प्रमिला आफैले आमाको अप्रेशन गर्नुभएको हो । डा. रोशन सोही अस्पतालको एनेस्थिेसिया हुनुहुन्छ । रोशनले आमालाई बेहोस बनाएपछि डा. प्रमिला आफैले आमाको उपचार गर्नुभएको हो । डा. प्रमिला स्त्रीरोग बिशेषज्ञ हुनुहुन्छ । उहाँले ६६ बर्षीय आमा अर्जुन कुमारी गुप्ताको पाठेघरको अप्रेशन गर्नुभएको हो ।

गएको बुधबार आमाको अप्रेशन गरेर अहिले डिस्चार्ज गरि घरमा आरामा गरिरहेको डा. प्रमिलाको भनाई छ । दुई महिनादेखि लगातार पिसाव नलीबाट नियमित रगत बगेपछि जाँच गर्दा पाठेघरमा समस्या देखिएको थियो । त्यसपछि घरपरिवारको सल्लाह बमोजिम प्रादेशिक अस्पतालमै अप्रेशन गरिएको हो ।“धेरैले यो अस्पताललाई रेफर अस्पताल भन्नु हुन्छ, यही सुधार गर्न म अन्य जिल्लाबाट छोडेर सेवा गर्न आफ्नै ठाउँमा आएकी छु”,डा. प्रमिलाले भन्नुभयो“ सामान्य ज्वरो आउँदा पनि बाहिर जानु पर्दैन,ठूला–ठूला अप्रेशन पनि गरिन्छ, भन्ने सन्देश दिन पनि हामीले यहीँ उपचार गरेका हौं ।”

डा. प्रमिलाले यस अघि बारा, पर्सा, विरगञ्ज, घोराही प्रतिष्ठानलगायतमा स्थानमा गएर सेवा गर्नुभएको छ । उहाँ पछिल्लो ६ महिनादेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत हुनुहुन्छ ।


उहाँको तुलसीपुर ५ निवासी हुनुहुनछ । उहाँले विरामीका आफन्तहरु सकारात्मक भएमा प्रादेशिक अस्पतालमै पनि प्रभाबकारी सेवा दिन सकिने बताउनुभयो ।“डाक्टरले कहिल्यै पनि विरामीलाई नराम्रो होस्, भन्ने चहाँदैन्, जसरी हुन्छ सन्चो बनाएर पठाउने नै डाक्टरले सोचिरहेको हुन्छ”, उहाँले भन्नुभयो“ तर, केही अप्रिय घटना भएमा डाक्टर माथि नै आक्रमण हुन्छ, यसले गर्दा डाक्टरहरुले पनि रिस्क लिन नमानेको अबस्था हुन्छ,अब त्यसलाई चीर्ण आबश्यक छ ।”

अहिले पनि पाठेघरमा समस्या भएका दैनिक ५÷७ जना विरामीहरु आउने गरेका छन् । तर, ति मध्ये सरदर एक जना विरामीको मात्रै प्रादेशिकमा उपचार हुने गरेको छ, अन्य सबै बाहिरी जिल्लामै उपचारकालागि जाने गरेको डा.गुप्ताले बताउनुभयो ।“विरामीको उपचार सफल हुँदा सबै भन्दा खुसी डाक्टर नै हुन्छ”, उहाँले भन्नुभयो“ असफल हुँदा सबै भन्दा दुःखी पनि हामी नै हुन्छौं, किनकी यो डाक्टरसंग पनि जोडिएको कुरा हो ।”

यस क्षेत्रको अस्पतालले राम्रो सेवा प्रवाह गर्न थालेमा यहीका नागरिकलाई सहज हुने र यहाँकै विकास हुने भन्दै अस्पताल नै विकासको एउटा आधार रहेको उहाँको भनाई छ ।

अस्पतालको विकास जहाँ हुन्छ, त्यहाँ अन्य विकास पनि त्यतिकै छिटो हुने उहाँको भनाई छ ।“यहाँबाट रेफर भएर जाने विरामीहरुलाई प्रतिष्ठानमा मैले नै हेरेँ”,उहाँले भन्नुभयो“त्यस्तो केश त यही पनि अप्रेशन गर्न सकिन्छ, त्यही अनुसारको स्रोत साधन यहीँ(प्रादेशिक अस्पताल) पनि छ ।” जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्न सकिएमा अहिले जस्तो रेफर दर नबढ्ने उहाँको भनाई छ ।

तुलसीपुरमा स्वास्थ्य क्षेत्रमै आएको परिवारको इतिहास भएकाले पनि स्वास्थ्य क्षेत्रमा केही नयाँ गर्न खोजेको भन्दै यसमा सबैले साथ दिनुपर्ने उहाँको भनाई छ । तुलसीपुरमा सुरुवाति चरणमा उहाँका वुवाले गुप्ता मेडिकल सञ्चालन गरेर सेवा प्रवाह गर्नुभएको थियो ।