विमलाको व्यथा : कहिले यता, कहिले उता  

उत्तरकुमार ओली पश्चिम दाङका बलियो खम्वा थिए । उपनिवेशमा परेको पश्चिम दाङमा एमालेले उत्तरलाई बलियो खम्बाका रुपमा लिएको थियो ।  कांग्रेसको गढ क्षेत्र मानिने दंगीशरण, बबईमा स्थानीय तहको निर्वाचनमा विजयी हाँसिल गरेपछि उत्तरको राजनीतिक उचाई झनै बढेको थियो । शंकर पोखरेलका विश्वास पात्र मानिने उनी २०७० सालको संविधानसभाको निर्वाचनमा कांग्रेसका नेता दीपक गिरीसंग पराजित भएका थिए । त्यो पराजितलाई २०७४ सालमा बदला लिए र उनी दाङ निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा ‘ख’बाट कांग्रेसका बुद्धिराम भण्डारीलाई पराजित गर्दै विजयी भए ।  तर, उनले जीवनमा पहिलो पटक जितेको सांसद पदलाई लामो कार्यकाल विताउन पाएनन् ।

प्रदेशको अस्थायी राजधानी बुटवलबाट गृह जिल्ला दाङ आउने क्रममा घोराही उपमहानगरपालिका वडा नं. ३ चिसापानीमा सवारी दुर्घटना हुँदा गम्भीर घाइते भएका ओलीको २०७५ फागुन १० गते मृत्यु भयो ।  उनले एक वर्ष भन्दा बढि काम गर्न गर्न पाएनन् । उनको मृत्युले पार्टीलाई ठूलो क्षति पुर्‍याएको मुख्यमन्त्री पोखरेले पटक–पटक सार्वजनिक कार्यक्रममा भन्ने गर्छन् । ‘पश्चिम दाङमा पार्टीलाई बलियो बनाउने काम उत्तरकुमार ओलीले गर्नुभएको थियो’, उनी भन्छन् ‘उहाँको निधनले पार्टीलाई ठूलो क्षति पुगेको छ ।’

उत्तरको निधन भएको करिब ९ महिनापछि २०७६ मंसिरमा भएको उपनिर्वाचनमा दाङबाट सहानुभूतिका लागि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले  विमला ओलीलाई नै उम्मेदवार बनायो । यद्यपी उनी त्यतिबेलासम्म पनि गृहणी नै थिइन् । श्रीमान राजनीतिका चतुर खेलाडी भएपनि विमलाले भने त्यो खेल बुझ्न पाइनन्, एउटा गृहणीका रुपमा मात्रै सीमित भइन् ।  ‘सहानुभूतिको मत प्राप्त गरेर विजयी त भइन् । तर, उनी आफै ‘सांसद’ पद सम्हाल्न सक्ने स्थितिमा थिइनन् र छैनन्’ एमालेकै एक नेताले भने ‘त्यसकै परिणाम कहिल्यै यता त, कहिल्यै उता गर्नुपर्ने बाध्यता उनीमाथि आइलागेको छ ।’

बैशाख १९ गते एमालले आफ्नो सांसद हराएको भनिरहेका बेला सोही दिन उनले पत्रकार सम्मेलन गरेर भनेकी थिइन् ‘म चुनाबमा जानु भन्दा पहिला सामान्य गृहणी थिएँ । म एमाले, माओवादी भन्ने केही चिन्दैनथे । नेकपा भन्ने पार्टी थियो । मलाई अपार दाई( राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा), दामा दिदी(प्रदेशसभा सदस्य दामा शर्मा)ले सहयोग गर्नुभयो । बढि माओवादीबाट सहयोग पाएँ, त्यसैले मैले माओवादी रोजे । मैले आफू राजीखुसी भएर माओवादी रोजेकी हुँ ।’

त्यसको तीन महिना पछि गएको शुक्रबारदेखि उनी तुलसीपुरबाट एकाएक सम्पर्क विहीन भइन् । पार्टीसँग सम्पर्कमा रहिनन् । तर, प्रहरीलाई फोन गरेर आफू नेपालगञ्ज उपचारका क्रममा रहेको जानकारी दिइन् । त्यस क्रममा माओवादीको प्रदेशसभा संसदीय दलले खोजीनीति गर्‍यो । सचेतक तुलाराम घर्तीका अनुसार उनको मोवाइलको लोकेशन हेर्दा कहिल्यै बुटवल, कहिल्यै दाङ त, कहिल्यै नेपालगञ्ज देखाउथ्यो । त्यसको तीनदिन पछि सोमबार आफू एमालेमा फर्किसकेको भनि विज्ञप्ति जारी गरिन् । पार्टीप्रति केही गुनासा रहेको भन्दै अब ति गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै एमालेको प्रदेशसभा संसदीय दलको सदस्य रहेको स्पष्ट पारिन् ।

श्रीमान पनि एमाले नै रहेकाले श्रीमानको योगदानको कदर गर्न पनि आफू एमाले बनेको समेत बताइन् । ‘उहाँको निधनपछि रिक्त रहेको प्रदेशसभा सदस्यमा उपचुनाब हुने भयो । यो उपचुनाबमा पार्टीले मलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । शोकमा डुबेकी म उम्मेदवार बन्ने निर्णय गरेँ । कमरेड उत्तरकुमार ओलीले पार्टीलाई गर्नुभएको योगदान स्मरण गरेँ, जनताले गरेको विश्वासलाई सम्झेँ, अन्ततः यी सबै कुराले मलाई आत्मबल  बलियो बनाएर उम्मेदवार बन्न प्रेरित ग¥यो । म चुनावी मैदानमा होमिए । चुनाब जितेँ’, उनले विज्ञप्तिमा लेखेकी छिन् । ‘मेरो जीत केवल प्राविधिक मात्रै थियो ।  चुनावमा खास जीत कमरेड उत्तरकुमार ओलीको थियो र, र हो । मलाई पार्टीले उम्मेदवार बनाउनु पनि कमरेड उत्तरकुमार ओलीप्रतिको सम्मान हो, भन्ने मेरो निष्कर्ष छ ।’


पटक–पटक प्रयोगमा रहने ‘विमला’
मुख्यमन्त्री शंकर पोखरेलले जतिबेला आफ्नो दलको स्पष्ट बहुमत रहेको भन्दै एकल सरकार घोषण गर्ने तयारी गरिरहेका थिए । त्यहीबेला सम्पर्क विहीन बनेकी थिइन् । सम्पर्क विहीन बनेको केही समयपछि उनी माओवादी केन्द्र रोजेको पत्रकार सम्मेलन गरि जानकारी दिइन् । जतिबेला प्रदेशसभामा ८१ सांसद थिए । ८१ सांसदमध्ये ४१ सांसद एमालेका थिए ।

 एमालेको एकल बहुमत पुग्ने अबस्थामा विमलाले माओवादी केन्द्र रोजिन् भने एमालेकै दृगनारायण पाण्डेले राजीनामा दिएपछि पोखरेल अल्पमतमा रहे । तर, पनि पोखरेलले प्रदेश प्रमुखलाई प्रभावमा पारेर मुख्यमन्त्रीको सपथ ग्रहण गरे । त्यसको केही दिनमा दाङकै प्रदेशसभा सदस्य अमर डाँगीले राजीनामा दिएपछि एमालेका ३८ सांसद मात्रै थिए ।

अहिले नयाँ प्रदेश प्रमुख आएपछि पुनः सरकार परिवर्तनको चलखेल भइरहेको छ । यही बेला पुनः विमलालाई एमालेले प्रयोग गर्‍यो । उनी एमालेमा प्रवेश गरिन । यो संगै एमालेसंग सांसदको संख्या ३९ पुगेको छ । जम्मा ८७ सांसद मध्ये माओवादीका २ जना कारवाहीमा पर्नुका साथै एमालेका दुई जनाले राजीनामा दिएपछि सांसदको संख्या ८३ थियो । ति मध्ये जसपाका ३ सांसदलाई पनि पार्टीले कारवाही गरेपछि  अहिले संसदमा ८० सांसद छन् । बहुमत पुर्‍याउन ४१ सांसद चाहिन्छ ।  विमलाले छोडेपछि गठबन्धनसँग ४० सांसद रहन्छन् । जसमा माओवादी केन्द्रबाट विजयी भएका पूर्णबहादुर घर्ती सभामुख छन् । उनले संसदमा निर्णायक मत दिन पाउँछन् ।

साभार : दीपक बोहरा/नयाँ पत्रिका