सशक्तीकरण सहितको सामाजिक जागरण आवश्यक: मेयर पाण्डे

तुलसीपुर, २४ फागुन ।


तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले आर्थिक सशक्तीकरणसहितको सामाजिक जागरण आवश्यक रहेको बताउनु भएको छ ।
११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नगर प्रमुख पाण्डेले संसारभरका सम्पूर्ण दिदीबहिनीमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुखशान्ति एवं समृद्धिको कामना गर्नु भएको हो ।
यस दिवसले महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्नु आजको आवश्यकता देखिएको पाण्डेले बताउनुभयो ।
महिलाका सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणका विभिन्न आयाममा भएका उपलब्धिलाई संस्थागत गर्दै महिलाको हकअधिकार सुनिश्चितता गर्न आवश्यक रहेकामा नगर प्रमुख पाण्डेले जोड दिनुभएको छ ।