खेलमा फड्को मार्दै तुलसीपुर‘गोरखा’, लगातार तीन बर्ष रनिङ शिल्ड ‘कब्जा’

तुलसीपुर
२१ असार / गोरखा स्कुल तुलसीपुरले शिक्षासंगै खेलकूद क्षेत्रमा पनि फड्को मार्दै आएको छ । राष्ट्रिय स्तरका खेलकूदमा समेत जिल्ला तथा प्रदेशको नेतृत्व गर्दै सहभागिता जनाएको स्कुलले शिक्षासंगै खेलकूदलाई पनि संगै लगेको छ । स्कुलले यस बर्षपनि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कब्जा गरेको छ ।

यो संगै लगातार तीन वटा रनिङ शिल्ड कब्जा गर्दै आएको गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा केसीले बताए । यस बर्ष स्कुलबाट सहभागिता जनाएर विजयी भएका खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । विगतजस्तै स्कुलमा कार्यक्रम गरि खेलाडीलाई हौसला प्रदान गर्न सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

स्थापना कालदेखी शिक्षासंगै खेलकूदलाई उच्च प्राथमिकतामा राखेको स्कुलले लक्ष्य र उदेश्य अनुरुप अध्ययनरत विद्यार्थीले पालिका,जिल्ला हुँदै राष्ट्रिय, अन्तरास्ट्रिय स्तरमा बिद्यालय र सिगो जिल्लाको सान र गौरव लाई उच्च बनाएको भन्दै स्वर्ण, रजत र कास्य पदक हात पार्न सफल खेलाडी लाई क्रमशः जनही तीन, दुई र एक हजार नगद पुरस्कारले पुरस्कृत गरिएको हो ।

विद्यालयका प्रिन्सीपल विजयमान जीएमका अनुसार विद्यालय स्थापनाको १२ औं बर्षमा शिक्षा र खेलकूदमा छलाङ मारेको भन्दै विद्यार्थीहरुलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम गर्ने गरेको बताए । उनले शिक्षा र खेलकूदले समाज रुपान्तरण गर्ने भन्दै विद्यालयले शैक्षिकसंगै खेलकूदका कार्यक्रम अघि बढाएको बताए ।

उनका अनुसार १२ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा स्कुलले जितेका ९ स्वर्ण , २ रजत र ३ कास्य पदकमा सर्वाधिक ४ स्वर्ण,१ रजत र १ कास्य पदक हात पार्ने कक्षा १० मा अध्ययनरत करुणा रिजाल नगद १५ हजार पुरस्कारले पुरस्कृत भएकी छिन् । त्यस्तै ३ स्वर्ण जितेकी विष्णु ओलीले नगद ९ हजार, २ स्वर्ण, १ रजत र १ कास्य पदक जितेकी रबिना रेउलेले ९ हजार, २ स्वर्ण,१ कास्य,पदक जित्ने चित्र बहादुर बस्नेत नगद ७ हजारले पुरस्कृत भएका हुन् ।


त्यस्तै दुई दुई स्वर्ण पदक जितेका रितिका बोहरा, रक्षा बश्याल र प्रतीक न्यौपाने जनही ६ हजार नगदले पुरस्कृत भएका हुन् । त्यस्तै कास्य पदक दिलाउने दिपेश राम्जा मगर,विशाल परियार,बिप्लव परियार,देविसरा वली,दीक्षा बस्नेत,सरु वली,दिपशिखा शाही जनही एक÷एक हजार पुरस्कारले पुरस्कृत भएका छन् ।

त्यस्तै स्कुललाई १० औं र ११ आंै जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड दिलाउदै राष्टिय तथा १३ दक्षिण एशियाली खेलकुद सागमा सहभागी अन्तरास्ट्रिय खेलाडी अरुणा रिजाल र सिमान थापालाई सम्मान पनि गरिएको थियो ।

विद्यालय ब्यबस्थापन समितिका उपाध्यक्ष डोर बहादुर जीसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दुजमान भण्डारी‘वर्षात’को र जिल्ला खेलकूद विकास समिति दाङका कार्यालय प्रमुख पदमा चौधरीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

त्यस अवसरमा प्रमुख अतिथि चौधरीले किताबी ज्ञान मात्रै नभई ब्यबहारिक शिक्षा हुनुपर्ने भन्दै विद्यालयले दिएको शिक्षा र खेलकूद क्षेत्रको प्रगतिको प्रशंसा गरेकी थिइन् । कार्यक्रमको सहजीकरण शिक्षक कमल भण्डारीले गरेका थिए ।