राप्तीको छोट्की सिसहनियाँमा सञ्चालित डल कुशन बनाउने तालिम सम्पन्न

तुल बहादुर कवँर मगर
देउखुरी, २ जेठ ।
दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँमा सञ्चालित १२ दिने डल कुशन बनाउने तालिम आइतबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सिताराम चौधरीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा उक्त तालिम समापन गरिएको हो।

तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उदेश्यले गाउँपालिकाले तालिमको आयोजना गरेको बताउनुभयो ।

त्यस्तै उहाँले सहभागीहरुलाई सिकेको सीपलाई व्यावहारमा लागू गरि उद्यमशिलता तर्फ अग्रसर बन्न समेत आग्रह गर्नुभयो ।

‘व्यावसायमा धैर्यता हुनुपर्छ।उत्पादन गर्नु ठुलो कुरा होइन। उत्पादन गरेको सामाग्री बिक्री गर्नु महत्त्वपूर्ण कुरा हो।व्यापार गर्न कला चाहिन्छ’,अध्यक्ष विष्टले भन्नुभयो ‘तपाईंहरुले उत्पादन गरेको सामाग्रीको बजारीकरणमा पालिकाले पनि सहयोग गर्छ।’


त्यस्तै अध्यक्ष विष्टले सामूहिक व्यवसायबाट नै सफल व्यावसायी बन्न सकिने उल्लेख गर्दै महिलाहरूलाई समूह गठन गरि व्यावसाय सुरु गर्न सुझाव दिनुभयो ।

वडा अध्यक्ष सिताराम चौधरीले सीपले मानिसलाई आत्मानिर्भर बनाउने बताउदै तालिमले महिलाहरुको आयआर्जनमा सहयोग पुग्ने विश्वास गर्नुभयो ।

तालिमको प्रशिक्षार्थी स्नेहा चौधरीले तालिम निकै उपयोगी भएको बताउदै आगामी दिनमा थप एडभान्स तालिमको आवश्यकता रहेको बताउनुभयो ।

तालिम ‘राप्तीका युवा र महिला,उद्यमशिलतामा पहिला’ भन्ने मूल नाराका साथ उद्धमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सिप विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो।

राप्ती गाउँपालिकाको आयोजना तथा मल्टिसेक्टर इन्जिनियरिङ कन्सल्टेन्सी शान्तिनगर दाङको आयोजना सञ्चालित तालिममा १७ जना महिलाहरुको सहभागीता रहेको थियो भने तालिमको प्रशिक्षक उमा चौधरी रहनु भएको थियो। तालिम समापन कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गर्नु भएको थियो ।