जनता विकासको पछि लाग्छन्, कसैको पेवा हुँदैनन् : मन्त्री मास्की

तुलसीपुर,२५ भदौ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जनता कुनै पनि पार्टीको पेवा नहुँने बताएका छन् । जनता विकासको पछि लाग्ने समेत उनले बताए ।‘जनता कसैको पेवा होइनन्, जसले विकास गर्‍यो,उसको पछि लाग्छन्’,उनले भने‘पश्चिम दाङमा माओवादीप्रति लहर छ, माओवादीले विकास गर्छ भन्ने जनतालाई बुझाउन सकेका थिएनौं, अहिले बुझाउँदैछौं ।”

पश्चिम दाङबाट माओवादीले सरकारमा प्रतिनिधित्व गर्न नपाएको अबस्थामा विकास पनि न्यून थियो । तर, अहिले माओवादीकै सांसद र मन्त्री भएपछि विकासले फड्को मार्नेतर्फ उन्मुख भएको बताए । माओवादीले पहिलो पटक पश्चिम दाङबाट मन्त्री पाएपछि इतिहासमै पहिलो पटक धेरै बजेट पाएको भन्दै जनताले विकासमा माओवादीलाई जिताउनु पर्ने कुरा बुझेको बताए । मुलुकमा एतिहासिक परिबर्तन पनि माओवादीले नै गरेको र विकास पनि माओवादीले नै गर्ने कुरा बुझेको भन्दै पछिल्लो समय पश्चिम दाङमा प्रवेश गर्नेहरुको लहर पनि बढेको बताएका छन् ।


बबई गाउँपालिका वडा नं.६ को सभामा उनले यस्तो बताए ।‘माओवादीले विकास गर्ने तर, प्रचार अर्कैले गर्ने स्थिति थियो’,उनले भने‘तर, अहिले जनताले यो कुरा बुझेका छन् ।’ जनप्रतिनिधिले जनताकै हितमा काम गर्नुपर्ने उनले बताए । उनले पश्चिम दाङमा माओवादीमा नयाँ उभार आएको समेत बताए ।

जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत भएका बिभिन्न कार्यक्रममा उनले यस्तो बताए । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका मास्कीले सोमबार बबई गाउँपालिका वडा नं. ६ को खिलतपुर, सुनपुर वडा नं. ७ को ओदाले, कालितारा, तुलसीपुर ६ लगायतमा भएका कार्यक्रममा सहभागिता जनाएका थिए । सोही क्रममा टोल कमिटि समेत गठन गरिएको थियो ।