समाचारका प्रभावः घट्दै बेथिति, खोज्दै आम्दानीका स्रोत

दाङ, ६ चैत ।
सञ्चार माध्यामले नियमित खबरदारी गरेपछि तुलसीपुर उपमहानगरपालिकामा बेथिति घट्दै गएका छन्, भने आम्दानीका स्रोतहरू खोजी कार्यमा चासो दिईएको छ । अग्रिम साप्ताहिक, लाईभ दाङ डटकम लगायतका सञ्चार माध्यामले खबरदारी गरेपछि इन्धनमा देखिने बेथिति घट्दै गएका छन्, भने उपमहानगरापलिकाले गुमाउँदै गएको आम्दानीमा पनि चासो दिईएको छ ।

हचुवाको भरमा इन्धन वितरणमा कमी
दाङ तुलसीपुर उपमहानगरपालिकाका लेखा समिति संयोजक घनश्याम ढकालले समाचार प्रकाशन भएपछि इन्धन वितरणमा सुधार भएको बताएका छन् । लेखा समितिले ल्याएको प्रतिवेदन अनुसार इन्धन अस्वभाविक खर्च भएपछि त्यसलाई सञ्चार माध्यामले समाचार प्रकाशन गरेका थिए । त्यसपछि अहिले विगत जस्तो अनावश्यक गाडी चलाउने, जसलाई पायो त्यसलाई इन्धन वितरण कार्य रोकिएको उनले बताए ।

त्यस्तै हचुवाको भरमा गाडी कुदाउने कार्य पनि अन्त्य भएको उनले बताए । अस्वभाविक रूपमा महिनामा ३२ लाख भन्दा बढि इन्धन खर्च भएपछि त्यसमा चौतर्फी रूपमा प्रश्न चिन्ह उठाईएको थियो । सञ्चार माध्याममा समाचार आएपछि अहिले त्यो कुरा अख्तियारले समेत अनुसन्धान थालेको छ । गएको कात्तिकमा मात्रै ३२ लाख बराबरको इन्धन खर्च भएको थियो ।

मण्डीबाट आम्दानी पाउँदै
दाङ तुलसीपुर उपमहानगरपालिकाले तरकारी बजार केन्द्रबाट आम्दानी पाउने भएको छ । यस अघि उपमहानगरपालिकाले मण्डीका सटरबाट भाडा उठाएर मासिक एक लाख सेन्टर माविलाई भाडा दिने सहमति भएको थियो । तर, सटरको भाडा उठाएर करिब ४४ लाख रूपैँया विद्यालयलाई दिनुपर्ने थियो । त्यो रकम उपमहानगरपालिकाले स्कुललाई दिन नसकेपछि गएको मंसिर देखि स्कुल आफैले भाडा उठाउने गरेको थियो ।

समाचार प्रकाशन भएपछि उपमहानगरपालिले चासो दियो र, त्यहाँको आम्दानी लिने सहमति भयो । बिहीबार तुलसीपुरमा त्रिपक्षिय छलफल पछि उपमहानगरपालिकाले आम्दानी लिने गरि सहमति भएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताए । उनका अनुसार उपमहानगरपालिका, तरकारी व्यवसायी र विद्यालयबीच सहमति पछि उपमहानगरपालिकाले १० प्रतिशत आम्दानी लिन पाउने र अन्य १० प्रति राजश्व लिन पाउने गरि सहमति भएको बताए ।


‘भाडाको १० प्रतिशत उपमहानगरपालिकाले दिने, १० प्रतिशत लाभांस कर दिने गरि सहमति भएको छ’, उनले भने ‘यो मौखिक सहमति भएको हो, अबको १/२ दिनमा लिखित सहमति हुन्छ ।’ सेन्टर स्कुलले मण्डीको भाडा उठाउन थालेपछि त्यहाँबाट उपमहानगरपालिकाले आम्दानी लिन पाएको थिएन् । त्यसपछि उपमहानगरपालिकाको लेखा समितिले मण्डी निर्माणमा लगानी गर्ने तर, आम्दानी नपाउने भएपछि प्रश्न चिन्ह उठाएको थियो ।

उपमहानगरपालिकाले आम्दानीका स्रोतलाई चुस्त नबनाउदा आर्थिक रूपमा कम्जोर बनेको छ । त्यसैले आर्थिक सुधार गर्नकालागि समितिले आम्दानीका स्रोतलाई चुस्त बनाउन सुझाब दिएको थियो  । साथै उपमहानगरपालिकाले बजेट निर्माण गर्दा विद्यालय तर्फ सेन्टर स्कुललाई प्राथमिकता दिने गरि सहमति भएको समेत प्रधानाध्यापक पौडेलले बताए ।

त्यो मण्डीबाट आम्दानी लिने गरि मौखिम सम्झौता भएकाले त्यसलाई केही दिनमा लिखित सम्झौता गर्ने तुलसीपुर–६ का वडाध्यक्ष दुजमान भण्डारीले बताए । सेन्टर स्कुलको १२ कठ्ठा जग्गामा तरकारी मन्डि निर्माण गरिएको छ । २०७५ माघ १ गतेदेखि लागु हुने गरि त्रिपक्षिय सम्झौता भएको थियो ।

त्यो सम्झौतामा सेन्टर स्कुलको १० कठ्ठा जग्गा उपमहानगरपालिकालाई भाडामा दिने कुरा उल्लेख थियो । त्यो वापत मासिक एक लाख भाडा दिने गरि सहमति भएको थियो । तर, उपमहानगरपालिकाले भाडा वापतको रकम नदिएपछि सेन्टर स्कुलले नै तरकारी मन्डीको भाडा उठाउँदै आएको थियो । गएको वर्ष मंसीर देखि आफूहरूले नै मण्डीको भाडा उठाएको थियो । त्यो भन्दा पहिले उपमहानगरपालिकाले नै व्यवसायीहरूबाट भाडा उठाउँर्दै आएको थियो । त्यहाँका ३६ वटा सटरबाट भाडा उठाउने गरिएको छ । ति सटरबाट मासिक एक लाख ५७ हजार रूपैँया भाडा उठाउने गरिएको छ ।

तरकारी मन्डीकालागि मात्रै पनि उपमहानगरपालिका मार्फत तराई मधेश समृद्धि कार्यक्रमको १ करोड बढि बजेट खर्च भएको छ, भने व्यवसायीहरूको लगानी समेत गरि २ करोड ३३ लाखमा तरकारी मन्डी सञ्चालनमा आएको हो । त्यो भन्दा अघि उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ तरकारी मन्डी थियो । त्यहाँ उपमहानगरपालिकाको ट्रेड टावर निर्माण गर्नकालागि तुलसीपुर–६ स्थित सेन्टर स्कुलको उत्तरतर्फको जग्गामा तरकारी मन्डी निर्माण गरिएको थियो ।

त्यहाँ तत्कालिन अवस्थामा १० कठ्ठा मात्रै जग्गा भाडा लिने सम्झौता भएपनि पर्खाललगायतका संरचना निर्माण गर्दा १२ कठ्ठा १७ धुर जग्गा भाडामा गएको छ । तरकारी बजारमा हाल १६ वटामा तरकारी ब्यापार, १९ वटा कोठामा फलफूल ब्यापार गर्ने गरिएको छ । २०६८ सालमा उक्त बजार दर्ता गरि सञ्चालनमा ल्याईएको हो । साभारः अग्रिम साप्ताहिक