गणेश आचार्य
दाङ/ तुलसीपुर उपहानगरपालिका वडा नम्वर ११ उरहरीका बिजुली चौधरी उमेरले ५२ बर्ष पुगे । अहिलेसम्म उनको जीन्दगी खेती किसानीमै बितिरहेको छ । आर्थिक अवस्था सामान्य भएका उनको जिवनको अधिकांश समय अभावमै रह्यो । खरले छाएको सानो झुपडीमा गरीबीको चपेटामा पिल्सिदै भएपनि उनले दुई छोरा र एक छोरीलाई हुर्काएर पढाए । धेरै बर्षपछी अन्नपात बेचेर जम्मा गरेको रकमले खरको छानो फालेर टिन लगाए । घरको छानोबाट खर फालेर टिन लगाएपछी उनले मनमनै सोच्थे,‘ टिन लगाएको घरमा त बसियो,ढलान गरेको पक्की घर बनाएर बस्न पाए कस्तो हुन्थ्यो होेला ?’ तर पक्की घर बनाउने उनको सामथ्र्य थिएन । केही बर्ष पहिले उनले जेठो छोरालाई रोजगारकालागि बिदेश पठाए ।
खेती किसानी गरेर घरखर्च चलाउने उनमा छोराले बिदेशबाट पैसा पठाउन थालेपछी पक्की घर बनाउने हुटहुटी चल्यो । उनले बिदेश गएको छोरा सँग सल्लाह गरे । बावुछोराको कुरा मिल्यो र गत मंसिर १३ गते घरको जग खन्ने साईत जुर्यो । उनले हर्षउल्लासका साथ चार कोठाको घर बनाउन लगाउन थाले । घर बनाउँदा उनको रोजाईमा प¥यो,सगरमाथा सिमेन्ट (पिपीसी) । उनले उरहरीकै जैशी हार्डवेयरबाट सगरमाथा सिमेन्ट लगेर प्रयोग गर्न थाले । घरको दिवाल लगाएर सकियो । बाँकी थियो ढलान गर्न । पुष २५ गते उनले एकसय बोरा सगरमाथा सिमेन्ट प्रयोग गरेर ढलान गरे । घरको ढलान गरेपछी उनले मनमनै सोचे,‘अब ढलान गरेको पक्की घरमा बस्ने भइयो ।’
ईन्जिनियर पवन योगीका अनुसार सिमेन्ट प्रयोग भएको ३० मिनेटपछी सेट हुन सुरु गर्छ भने २४ घन्टामा पुरै भइसक्छ । तर,चौधरीको घरमा भने ढलानमा प्रयोग गरिएको सगरमाथा सिमेन्ट भने २३ दिनसम्म पनि सेट भएन । सिमेन्टले काम नगरेपछी उनले हार्डवेयरमा गएर संचालक नन्नलाल जैशीसँग गुनासो गरे । जैशीले सगरमाथा सिमेन्टको उद्योगमा कुरा पु¥याए । उद्योगका प्रतिनिधी आएर स्थलगत अवलोकन गरे । सिमेन्ट गुणस्तरहिन भएकाले ढलान सेट नभएको उनीहरुले निस्कर्ष निकाले । उद्योगका प्रतिनिधी र चौधरीबीच उद्योगले क्षतीपूर्ती दिने सहमती भयो ।
सहमती अनुसार उद्यागले ढलान गर्दा लागेको सिमेन्ट,छड र लेवर खर्च तिर्ने भयो । उनले यसमा चित्त बुझाए । किनकी,उनलाई पक्की घरमा बस्नु थियो । एकपटक ढलान सेट नभएपछी चौधरी सगरमाथा सिमेन्ट प्रयोग नगर्ने निर्णयमा पुगे । तर,क्षतीपूर्ती तिर्न तयार भएको सगरमाथा सिमेन्टको उद्योगले उनलाई फेरी उहीँ सिमेन्ट प्रयोग गर्न बाध्य बनायो । उनले उद्योगको दावाब थेग्न सेकेनन् र फेरी सगरमाथा सिमेन्ट प्रयोग गरेर यहीँ फागुन ३ गते ढलान गरे । दोस्रोपटक गरेको ढलानमा पनि सगरमाथा सिमेन्ट तीन दिनसम्म सेट भएन ।
दोस्रो पटक पनि सगरमाथा सिमेन्ट सेट नभएपछी उनी निकै तनाबमा छन् । उनले अब पक्की घरमा बस्ने आशा मारिसकेका छन् । ‘पक्की घरमा बस्ने पहिल्यैदेखी सपना थियो ।’ तर,दोस्रो पटक पनि ढलान सेट भएन ।’ चौधरीले भने,‘पक्की घरमा बस्ने मेरो सपना सगरमाथा सिमेन्टले तुहायो ।’
उनी अब घर बनाउने मनस्थितीमा छैनन् । ढलान सेट नभएको अधुरो घर देखाउँदै उनले भने,‘सिमेन्ट उद्योगसँग क्षतीपूर्ती ल्याएर यो घर भत्काउँछु ।’
चौधरीलाई सगरमाथा सिमेन्ट बेचेका जैशी हार्डवेयरका नन्दलाल जैशीले चौधरीलाई बेचेको सिमेन्ट पहिलो पटक मंसिर मंसिर १९ गते र दोस्रो पटक माघ २५ गते उद्योगबाट ल्याएका थिए । उक्त मितीमा उद्योगबाट ल्याइएको सिमेन्टमा धेरै कम्पेलेन आएको जैशीले बताए । उनका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ कचिलाका तिलक खड्का र वडा नम्वर १३ का जनक चौधरीको घरमा पनि सगरमाथा सिमेन्टले काम गरेको छैन् ।
सगरमाथा सिमेन्टका प्रतिनिधी अमर सुवेदीका अनुसार प्राबिधिक त्रुटीका कारण केही गुणस्तरहिन सिमेन्ट उत्पादन भएको र सोही सिमेन्ट बजारमा पुगेकाले समस्या आएको हो । उद्योगले गुणस्तरहिन सिमेन्ट उत्पादन हुनुको कारण पत्ता लगाउनुका साथै पीडीतलाई क्षतीपूर्ती दिने सुवेदीले बताएका छन् ।
लाइभदाङ । ७ फाल्गुन २०७८, शनिबार १६:३२ बजे