निर्माण पूरा हुनेबेला सुरु भयो घोराही–तुलसीपुर फोरलेन

दाङ
११ मंसिर / निर्माण पूरा हुने बेला घोराही–तुलसीपुर चारलेनको काम पुनः सुरु भएको छ । यस अघि बीचबीचमा काम सुरु हुने र बीचमै अलपत्र छोड्ने अबस्थामा थियो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका छोरा अनुप पाण्डेले पेटी ठेकेदारका रुपमा काम गरेका थिए । उनले सुरु–सुरुमा तिब्रगतिमा काम गरेका थिए । तर, बीचमा काम छोड्दा चारलेनबाट मानबीय क्षति समेत ब्यहोर्नु परेको थियो ।

अब भने पेटी ठेक्केदारसंगको सम्झौता भंग गरि निर्माणको जिम्मा लिएको भारतिय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले आफै काम गर्ने भएको छ । सडक बनाउने सम्झौता भएको ३३ महिना पछि पुनः कम सुरु भएको हो । कम्पनीका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेब पाण्डेका अनुसार पेटी ठेकेदारले आफुहरुलाई गलत सूचना दिएका कारण यो अबस्था आएको बताए । अनले अबको एक बर्ष भित्रमा सडक निर्माणको काम सक्ने बताएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले छिटो काम सम्पन्न गर्न अनुरोध गरेका छन् ।


अब पनि ढिलाई भएमा कानुन अनुसार कारवाही गर्ने चेतावनी समेत दिएका छन् । उनले आफूले दैनिक एक घण्टा चारलेन सडककै विषयमा चासो दिने समेत बताएका छन् । सोही सडक अस्तब्यस्त भएकै कारण अहिलेसम्म दुर्घटनाबाट १२ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लले बताए ।

अहिले सोही सडक निर्माणको काम ७ प्रतिशत मात्रै भएको छ । सवा एक अर्ब रुपैयाँको लागतमा बन्ने सडकमा अहिले सम्म १२ करोड रुपैयाँ खर्च भइसकेको छ । अब रातदिन गरेर चारसय निर्माण मजदुरहरु राखेर काम गर्ने योजनामा निर्माण कम्पनी रहेको छ ।