क्षतिपूर्तिमा सहमति भएपछि घोराही–तुलसीपुर सुचारु

दाङ, २० साउन । टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीयले अवरूद्ध गरेको घोराही–तुलसीपुरसडक पाँच घण्टापछि खुलेको छ ।

समिति र मृतकका परिवारबीच क्षतिपूर्ति दिने सहमति भएपछि सवारी आवागमन सुरू भएको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

शुक्रबार बेलुका घोराहीको सौरीकुला नजिककै टिपरको ठक्करबाट मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर ९ मछाही घर भई घोराही १५ मा बस्दै आएका ३९ वर्षीय कुल बहादुर बस्नेतको मृत्यु भएको हो ।


टिपर चालकलाई कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बिहान ६ बजेदेखि सडक अवरूद्ध गरेका थिए।

बिहान ११ बजे मृतकका आफन्त र टिपर व्यवसायी समितिबीच छलफलपछि अवरूद्ध सडक खुलाउने सहमति भएको हो ।

शुक्रबार बेलुका सवा ८ बजेतिर बस्नेत सवार बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई लु २ ख ५०८५ नम्बरको टिप्परले घोराही १० अम्राई नजिकै ठक्कर दिएको हो ।
बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । टिपर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।