
तुलसीपुर,२२ भदौ ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्यान्टिन र त्यसको परिसरमा रहेका होटलहरूमा आकस्मिक अनुगमन गरिएको छ । सोमबार दाङका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन गरिएका परिसरभित्रका तीनवटा होटल र एउटा डेरीलाई जरिवाना गरिएको छ ।
जसअन्तर्गत हिमाली होटल एन्ड खाजा घरलाई १५ हजार , मा अम्बे खाजा तथा नास्ता पसललाई ५ हजार र होटल दाङ सल्यानलाई ५ हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दाङका सूचना अधिकारी सुदर्शन गोसाईले जानकारी दिए । उनका अनुसार मापदण्ड विपरित रहेको घोराही डेरीलाई पाँच हजार जरिवाना गरिएको छ ।
अस्पतालको क्यान्टिनका विषयमा विभिन्न उजुरी र गुनासोहरू आएपछि अनुगमन गरिएको हो । यद्यपी निरीक्षणका क्रममा हस्पिटल क्यान्टिनको अवस्था भने सन्तोषजनक पाइएको सूचना अधिकारी गोसाइले बताए ।



लाइभदाङ । २२ भाद्र २०८३, सोमबार २०:४२ बजे