राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५० एमबिबिएस विद्यार्थी गढवाको समुदायमा

आलोक भावुक
गढवा, १८ भदौ ।

समुदायमा रहेका स्वास्थ्य समस्या पहिचान गरी समयमै निदान तथा उपचारका लागि स्वास्थ्य संस्थासम्म पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको समुदायमा आधारित रोग निदान तथा स्वास्थ्य निरूपण कार्यक्रम सम्पन्न भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत ५० जना विद्यार्थीले गढवा गाउँपालिकाका वडा नं. ४ र ५ का विभिन्न टोलमा पुगेर समुदायमा रहेका स्वास्थ्य समस्याको खोजपड्ताल गरेका हुन्।

विद्यार्थीहरूलाई १०/१० जनाको समूह बनाई विभिन्न टोल तथा घरपरिवारमा परिचालन गरिएको थियो। उनीहरूले करिब ७ सय घरपरिवारमा पुगेर स्वास्थ्यसँग सम्बन्धित समस्या, रोग तथा जोखिम अवस्थाको खोजपड्ताल गरेका थिए।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले समुदायका नागरिकसँग प्रत्यक्ष भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिने, सम्भावित रोग तथा स्वास्थ्य समस्याको पहिचान गर्ने र आवश्यक परामर्श दिने काम गरेका थिए।
कार्यक्रमको सामुदायिक प्रस्तुति तथा समापन कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. आङ छिरिङ शेर्पाले समुदायमा पहिचान भएका स्वास्थ्य समस्यालाई सम्बन्धित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थासम्म जानकारी गराई आवश्यक निदान तथा उपचारका लागि सहजीकरण गर्नु महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँले समुदायमा रहेका स्वास्थ्य समस्या पहिचान गरी समाधानका लागि समुदाय, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। “समुदायका समस्या समुदायमै पहिचान गर्ने र समाधानका लागि समुदायमै रहेका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई परिचालन गर्ने” अवधारणाले कार्यक्रमलाई थप प्रभावकारी बनाउने उहाँको भनाइ थियो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले समुदायमा पुगेर प्रत्यक्ष रूपमा स्वास्थ्य समस्या अध्ययन गर्ने अवसर पाउनुका साथै स्थानीय नागरिकले पनि आफ्ना स्वास्थ्य समस्या तथा अवस्थाबारे जानकारी गराउने अवसर पाएका थिए।


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गढवा गाउँपालिकालाई अध्ययन तथा खोजपड्तालका लागि रोजेकोमा गढवा गाउँपालिका स्वास्थ्य शाखाले धन्यवाद व्यक्त गरेको छ। स्वास्थ्य शाखा प्रमुखले विद्यार्थीहरूलाई समुदायमै पठाएर स्वास्थ्य समस्याको खोजपड्ताल गर्ने प्रतिष्ठानको प्रयास सकारात्मक रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमले समुदायमा लुकेर रहेका स्वास्थ्य समस्याको प्रारम्भिक पहिचानसँगै रोगको समयमै खोज, निदान, उपचार र स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।