राप्ती प्रतिष्ठानमा चार पदका लागि १२ नाम सिफारिस, पन्थीको दौडधुप खेर गयो

घोराही, १८ भदौ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभिन्न पदाधिकारी नियुक्तिका लागि १२ जनाको नाम सिफारिस गरिएको छ। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदका लागि तीन–तीन जनाको नाम सिफारिस गरिएको हो।

शिक्षाध्यक्ष पदका लागि राम नारायण मण्डल, विकास गौचन र कृष्ण कुमार झाको नाम सिफारिस भएको छ। त्यस्तै रजिस्ट्रार पदका लागि एकानन्द सिंह, राम नारायण मण्डल र श्याम लम्सालको नाम सिफारिस गरिएको मन्त्रालय स्रोतले जनाएको छ।


डीन पदका लागि अम्बिका पौडेल ढकाल, कृष्ण कुमार झा र विकास गौचन तथा निर्देशक पदका लागि सुरेश वि.क. रसाइली, प्रविन कुमार गिरी र विपिन खनालको नाम सिफारिस भएको छ।

प्रतिष्ठानका विभिन्न पद लामो समयदेखि रिक्त रहँदै आएका थिए। पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस भएसँगै अब सम्बन्धित पदमा नियुक्तिको निर्णय हुने बताइएको छ। नियुक्ति प्रक्रिया अघि बढेपछि प्रतिष्ठानका प्रशासनिक तथा शैक्षिक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।