
काठमाडौँ, १४ मंसिर । स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको प्रभावकारी काम, योगदान र सुकर्मलाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित शी लिड्स आइकन दोस्रो संस्करणको अवार्ड समारोह तथा महिला जनप्रतिनिधि उत्सव आगामी मंसिर २२ गते काठमाडौंको अनुपम फुडल्याण्ड, बत्तीसपुतलीमा विहान ११ :०० बजे उद्घाटन हुने भएको छ।
कल्प इम्पावर वेमेन नेपालद्वारा आयोजित उक्त कार्यक्रममा निर्णायक मण्डलले छनोट गर्नु भएको प्रेरणादायी महिला जनप्रतिनिधिलाई सम्मान गरिनुका साथै प्रेरणादायी महिला जनप्रतिनिधि मध्येबाट सात जना उत्कृष्ट महिला जनप्रतिनिधिलाई शी लिड्स आइकन घोषणा गरि सम्मान गरिने आयोजक सस्थाले जानकारी दिएको छ।
आयोजक सस्थांकी अध्यक्ष पूजा कोइरालाका अनुसार, यस वर्षको संस्करण विशेष रूपमा महत्वपूर्ण रहनेछ। उनका अनुसार, कार्यक्रममा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, प्रथम महिला सभामुख अन्सारी घर्ती मगर र प्रथम महिला प्रदेश प्रमुख अनुराधा कोइराला तथा विभिन्न क्षेत्रका अग्रणी महिलाहरूको उपस्थितिमा सम्मान समारोह सम्पन्न हुनेछ।
कार्यक्रममा स्थानीय सरकारले आफ्ना सेवा, योजना तथा उत्पादनका स्टल राखी सूचना केन्द्रमार्फत जनप्रतिनिधिहरूका काम र उपलब्धिहरू प्रस्तुत गर्नेछन्। साथै महिला उद्यमीहरूले उत्पादन तथा सेवाहरू प्रदर्शन गर्नेछन्।
यसैगरी, महिला नेतृत्व, राजनीतिमा सहभागिता र उद्यमशीलतामा महिलाको भूमिका विषयक बहस, छलफल तथा प्यानल डिस्कसन समेत हुने कार्यक्रमको तयारी भइरहेको छ। प्यानल डिस्कसनमा नेपाल उद्योग वाणिज्य महासङ्घकी प्रथम महिला अध्यक्ष भवानी राणा, महिला उद्यमी महांसंघकी अध्यक्ष शोभा ज्ञावाली र इनड्राइभ नेपालकी रिता पोखरेल, साथै शी लिड्स आइकनको पहिलो संस्करणका आइकनहरूले आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
अध्यक्ष कोइरालाले यस कार्यक्रमलाई ३० वर्षभन्दा कम उमेरका युवाले सञ्चालन गरिरहेको उल्लेख गर्दै कुनै पनि दातृ निकायको सहयोग बिना संस्थाले निरन्तर सामाजिक नेतृत्व विकासका कार्यक्रम अघि बढाएको तथ्यलाई नेपालमै बसेर केहि गर्न सकिन्छ भन्ने भाष्य स्थापित गर्न खोजेको बताइन्।



लाइभदाङ । १५ मंसिर २०८२, आईतवार १७:५२ बजे