दाङमा ग्यासको लाइन लाग्नु नपर्ने गरि सरोकारवालासंग छलफल

दाङ,२ भदौ ।
खाना पकाउने ग्यास लिन लाईनमा बस्नु पर्ने अबस्था अन्त्यकालागि जिल्ला प्रशासन कार्यालय दाङले सरोकारवालासंग छलफल गरेको छ । सोमबार स्थानीय तहका प्रतिनिधि, आयल निगम, ब्यबसायी, ग्यास विक्रेतालगायतका सरोकारवालासंग छलफल गरेको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार छलफलबाट सडकमा ग्यासका लागि सर्वसाधारण घन्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न स्थानीय तहलाई जिम्मेवार बनाउने गरी नयाँ विधि बनाउने छलफलको निष्कर्ष निस्किएको हो । “सडकमा ग्यासको लाइन देखिनु दुःखद छ। हामीले अनुगमन गर्दा कतै ग्यास लुकाएको पनि भेटिएको छैन”,उहाँले भन्नुभयो“तर मुख्य समस्या वितरण प्रणालीमा देखिएको छ, त्यसैले अब विक्रेताहरूले आफ्ना नियमित ग्राहकलाई आश्वस्त पार्ने र स्थानीय तहले विपन्न वा समस्यामा परेकाहरूलाई सहजीकरण गर्ने गरी मोडालिटी बनाउँदैछौं ।”


यसअघि प्रशासनले दुईवटा टेलिफोन नम्बर उपलब्ध गराएर ग्यास वितरण गर्ने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेको थिएन । दुइटा नम्बरमा आउने कलले मात्रै माग धान्न सम्भव नभएकाले अब वडा तहलाई नै सक्रिय बनाउनुपर्ने गरि विधि बनाउने गरि छलफल भएको उहाँको भनाई थियो । प्रशासनले यो नयाँ व्यवस्थालाई एक–दुई हप्ता परीक्षणको रूपमा लागू गर्ने योजना बनाएको छ । यदि यो परीक्षण सफल भएमा निरन्तरता दिने समेत उहाँले बताउनुभयो ।

मंगलबार स्थानीय तहका प्रमुखहरुसंग पनि थल छलफल गरि निर्णयलाई लिपिबद्ध गरिने समेत प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ । यो विधिले सडकमा लाइन लाग्नु पर्ने अबस्थाको अन्त्य हुने समेत उहाँको विश्वास छ ।