तुलसीपुर नगर स्तरीय पाँच लाखसम्मका योजना वडाबाटै कार्यान्वयन हुने

दाङ, १८ असोज ।
तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ मा नगरस्तरबाट सञ्चालन हुने रु. ५ लाखसम्मका योजना, आयोजना तथा कार्यक्रम वडा तहबाटै कार्यान्वयन गर्नेगरी सम्बन्धित वडालाई हस्तान्तरण गरेको छ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र शिवाकोटीको अध्यक्षतामा भएको एक कार्यक्रमकाबीच उक्त निर्णय भएको हो ।

कार्यक्रममा उपमहानगरपालिकाका सबै वडाका वडा सचिव तथा लेखा हेर्ने कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नगरस्तरबाट सञ्चालन हुने रु. ५ लाखसम्मका योजना, आयोजना तथा कार्यक्रम सम्बन्धित वडा कार्यालयमार्फत सम्पन्न गर्नेगरी जिम्मेवारी हस्तान्तरण गरिएको हो ।


सो अवसरमा तोकिएको बजेट सीमाभित्र रहेर मात्र योजना तथा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ।

उपमहानगरपालिकालाई थप दायित्व सिर्जना हुने गरी बजेट सीमाभन्दा बाहिर गएर कुनै पनि काम नगर्न तथा स्वीकृत बजेटको सीमाभित्र रहेर योजना कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिइएको हो।

वडा तहबाटै योजना तथा कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय आवश्यकता र प्राथमिकताअनुसार काम गर्न सहज हुनुका साथै योजना कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। शनिवार आयोजित कार्यक्रममा नगरप्रमुख टीकाराम खड्का प्रमुख अतिथि तथा उपप्रमुख स्यानी चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी थिइन ।

नगरप्रमुख टिकाराम खड्का अनलाइन माध्यमबाट कार्यक्रममा जोडिएका थिए ।