टरिगाउँ विमानस्थल विस्तारलाई आश्वासनमा होइन परिणाममा बदलौः रास्वपा नेता हरि रिजाल

दाङ, १९ असोज ।
दाङस्थित टरिगाउँ विमानस्थल कुनै एउटा दल, नेता वा सरकारको मात्र नभई सम्पूर्ण दाङवासीको दशकौँदेखिको अपेक्षा रहेको रास्वपाका नेता हरि रिजालले बताएका छन्। उनले यस क्षेत्रको आर्थिक सम्भावना र नागरिकको सहज आवागमनसँग जोडिएको महत्वपूर्ण सार्वजनिक पूर्वाधार भएको भन्दै वर्षौँदेखि विमानस्थल विस्तारका लागि चर्चा, प्रतिबद्धता, अध्ययन र योजनाहरू बने पनि अपेक्षाअनुसार विस्तार हुन नसक्नु गम्भीर समीक्षा र आत्ममूल्यांकनको विषय भएको बताए। हाल विमानस्थल विस्तारका लागि बजेट विनियोजन हुनु सकारात्मक सुरुवात भए पनि बजेट विनियोजन हुनु र आयोजना सम्पन्न हुनु एउटै कुरा नभएकाले कार्यान्वयनको ठोस आधार बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

नेता रिजालका अनुसार टरिगाउँ विमानस्थलको विषय राजनीतिक आरोप–प्रत्यारोप, श्रेयको प्रतिस्पर्धा र चुनावी नारामा मात्र सीमित हुन नहुँने समेत बताए । प्राविधिक रूपमा उपयुक्त विकल्पको टुङ्गो लगाउने, जग्गाको न्यायोचित व्यवस्थापन गर्ने, पर्याप्त बहुवर्षीय बजेट सुनिश्चित गर्ने, जिम्मेवार निकायको भूमिका स्पष्ट पार्ने र निर्माणको समयसीमा सार्वजनिक गरिनुपर्ने उनको भनाइ छ।

यस प्रक्रियामा स्थानीय नागरिक, जग्गाधनी, तुलसीपुर उपमहानगरपालिका, जनप्रतिनिधि, नेपाल नागरिक उड्डयन प्राधिकरण र संघीय सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उनले जोड दिएका छन्। जग्गा व्यवस्थापन गर्दा स्थानीय नागरिकको अधिकार, उचित मुआब्जा र न्यायपूर्ण प्रक्रियालाई मुख्य प्राथमिकतामा राख्नुपर्ने उनले बताएका छन्।


दाङको विकास कुनै एक व्यक्तिको सफलता वा असफलताको विषय नभएर साझा जिम्मेवारी भएको बताउँदै विगतका पहलकर्ताहरूको योगदानको सम्मान र कमजोरीहरूबाट पाठ सिकेर परिणाममुखी ढङ्गले अघि बढ्नुपर्ने नेता रिजालले उल्लेख गरेका छन्। टरिगाउँ विमानस्थललाई केवल घोषणाबाट कार्यान्वयनमा, बजेटबाट निर्माणमा र निर्माणबाट नियमित तथा भरपर्दो हवाई सेवाको अवस्थासम्म पुर्‍याउनुपर्ने उनको आग्रह छ।

दाङवासी अब थप आश्वासन नभई कामको प्रत्यक्ष प्रगति देख्न आतुर रहेको उल्लेख गर्दै आयोजना पूरा गर्न आवश्यक समन्वय, पारदर्शिता र जवाफदेहिताका लागि आफ्नो स्तरबाट निरन्तर पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

विमानस्थलको विकास दाङको साझा सपना र कार्यान्वयन साझा जिम्मेवारी भएको भन्दै यसलाई समयसीमा, बजेट र जवाफदेहितासहित सम्पन्न गर्ने सार्वजनिक प्रतिबद्धता तथा संकल्प बनाउनुपर्नेमा उनले जोड दिएका छन्।