तुलसीपुरमा एकाबिहानै लुटियो सुनको सिक्री

तुलसीपुर, १८ असोज ।
दाङको तुलसीपुरमा एकाबिहानै सुनको सिक्री लुटिएको छ।

तुलसीपुर उपमहानगरपालिका – ६ गुम्ह्राचोक निवासी ३० वर्षीया सृजना केसीले लगाइरहेको सुनको सिक्री लुटिएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार व्यस्त बजारमा एक लुटेराले सृजनाको घाँटीबाट सुनको सिक्री थुतेर भागेका हुन्।


उनका अनुसार बिहान पौने ६ बजे नै सृजनाले घटनाबारे प्रहरीलाई खबर गरेकी थिइन्। ‘अपरिचित व्यक्तिले घाँटीमा लगाएको सुनको सिक्री बाहिनी चोक नजिकै तरकारी किन्ने क्रममा थुतेर भागेको भन्ने सूचना आएको छ,’ डिएसपी पराजुलीले भने, ‘हामी अनुसन्धान गर्दैछौं।’

प्रहरीका अनुसार पीडित केसीले आफ्नो घाँटीबाट झन्डै डेढ तोलाको सुनको सिक्री लुटिएको बताएकी छन् ।

घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।