पोखिए मरुभूमिको पसिनादेखि बैंकको जागिर छाडेर उद्यमी बनेकाहरूको कथा

दीपक बोहरा
दाङ, २३ साउन ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा दाङको तुलसीपुरमा एउटा भिन्नै खालको उत्साह देखियो। शुक्रबार आयोजना गरिएको ‘युवा उद्यमशीलता प्रवद्र्धन प्रशिक्षण तथा अनुभव आदानप्रदान’ कार्यक्रम केवल एउटा औपचारिक समारोहमा मात्र सीमित रहेन, बरु सफल उद्यमीहरूको संघर्ष र सपनाको जीवन्त कथा सुनाउने थलो बन्यो ।

कार्यक्रममा सहभागीहरूको ध्यान तान्न सफल भए— दीपक काफ्ले, जो हाल ‘रानी केक’ का सीईओ हुन् । उद्यम सुरु गर्ने तीव्र चाहना भए पनि सुरुवाती दिनमा उनीसँग पर्याप्त पूँजी थिएन। त्यही आर्थिक अभाव टार्न उनी वैदेशिक रोजगारीका लागि कतार पुगे । लामो समय मरुभूमिको देशमा पसिना बगाएर स्वदेश फर्किएपछि उनले थुप्रै व्यवसायमा हात हाले, तर सफलता हात पार्न सजिलो थिएन।

धेरै क्षेत्रमा असफलता भोग्दा भोग्दै पनि उनले हिम्मत हारेनन् र ‘रानी केक’ सुरु गरे । आज उनको यो ब्रान्ड दाङको तुलसीपुर र घोराही मात्र होइन, बाँके, सुर्खेत र कपिलवस्तु गरी चार जिल्लामा फैलिसकेको छ । ‘छिट्टै चितवनमा पनि नयाँ शाखा खोल्दैछौँ’, काफ्लेले आफ्नो आगामी योजना सुनाउँदा हलमा उपस्थित युवाहरूमा आशाको नयाँ किरण देखिएको थियो ।

त्यस्तै, अर्का प्रेरणादायी पात्र थिए डिलाइट ग्रुपका सीईओ वीरबहादुर भण्डारी (मोहन)। कुनै समय मेघा  बैंकको तुलसीपुर शाखामा प्रबन्धकका रूपमा कार्यरत भण्डारीले एउटा सुरक्षित जागिर छाडेर उद्यमशीलताको कठिन बाटो   रोजे । ‘जागिरले जीवनयापनको आधार त दिन्छ, तर व्यावसायिक प्रगति र सन्तुष्टि उद्यमशीलतामै छ,’ उनले आफ्नो अनुभव साटे । हाल उनी डिलाइट ग्रपपमार्फत पाँच वटा विभिन्न परियोजनाहरू सफलतापूर्वक सञ्चालन गरिरहेका छन् ।


कार्यक्रमका ग्रीन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले नेपालको वर्तमान आर्थिक अवस्थामाथि कडा टिप्पणी गरे। उनले अब ‘गफ गरेर मात्र नहुने’ भन्दै नेपाललाई उत्पादनमुखी अर्थतन्त्र तर्फ लैजानु पर्नेमा जोड दिए । पाण्डेका अनुसार,‘युवाहरू केवल जागिरको खोजीमा लाग्ने होइन, बरु वस्तु तथा सेवा उत्पादन र बिक्रीमा प्रत्यक्ष जोडिनुपर्छ’ उनले थपे,‘असफलतापछि प्राप्त हुने सफलता नै दिगो हुन्छ, त्यसका लागि धैर्य, आत्मविश्वास र निरन्तर प्रयासको खाँचो पर्छू ।’

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले युवाहरूको सक्रियता बिना नगरको विकास सम्भव नभएको बताईन् । उनले युवाहरूलाई उद्यमी बन्न उत्प्रेरित गर्दै स्थानीय सरकार युवा उद्यमशीलताको विकासमा सधैँ साथमा रहेको समेत बताईन् ।

त्यस्तै युवा व्यवसायी गोरखबहादुर वलीले मुलुकको समृद्धिका लागि उद्यमशीलता अभियान अनिवार्य सर्त रहेको बताए । नगर युवा परिषद् तुलसीपुरका अध्यक्ष प्रकाश रावतको अध्यक्षतामा भएको कार्यक्रममा नगर युवा सञ्जालका सदस्य केबी ओलीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण नगर युवा परिषद्का अध्यक्ष ओदबहादुर भण्डारी ९गणेश०ले गरेका थिए ।

तुलसीपुर नगर युवा परिषद्, तुलसीपुर उपमहानगरपालिका र ग्रीन फाउन्डेसन नेपालको आयोजनामा कार्यक्रम भएको  हो ।