
दाङ, २१ साउन ।
दाङको बबई गाउँपालिकामा आफ्नै भाइ बुहारी नाता पर्ने २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति विरुद्ध जिल्ला अदालत दाङमा अभियोगपत्र दायर गरिएको छ । सरकारी वकिल कार्यालयले अभियुक्त विरुद्ध बुधबार अभियोगपत्र दायर गरेको हो ।
गएको असार २६ गते बिहान करिब ४ बजेतिर बबई गाउँपालिका वडा नं. ४ स्थित पीडितकै सुत्ने कोठामा प्रवेश गरी जेठाजुुले डर-त्रास देखाई जबरजस्ती करणी गरेको अभियोग पत्रमा उल्लेख छ ।
अदालतमा दर्ता गरिएको अभियोगपत्र अनुसार, पीडित महिला आफ्नो कोठामा सुतिरहेको अवस्थामा अभियुक्तले भित्र प्रवेश गरी मुख थुनेर र ज्यान मार्ने धम्की दिएर उनको इच्छा विपरीत कृत्य गरेका थिए । सुरक्षा र गोपनीयता कायम राख्न अदालतको निर्देशिका बमोजिम पीडितलाई ५६ तुलसीपुर ०८३-०१ र अभियुक्तलाई ५६ तुलसीपुर ०८३-०२ संकेत नाम दिइएको छ ।
मिसिलमा उल्लेख भए अनुसार अभियुक्त र पीडितका श्रीमान् सोदर दाजुभाइ हुन् । पीडितले प्रतिकार गर्न खोज्दा अभियुक्तले थप डर-त्रास देखाएको र घटनापछि उनी तत्काल फरार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।



लाइभदाङ । २१ श्रावण २०८३, बिहीबार १०:२६ बजे