
प्रिया स्मृती गजमेर
देउखुरी,१४ साउन ।
स्वास्थ्य संस्थामा सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास०, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन र संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले लमही अस्पतालमा एकदिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
युनिसेफ नेपालको आर्थिक सहयोग तथा छायाँ नेपाल संस्थाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रम स्वास्थ्य संस्थाको सेवा गुणस्तर सुधार गर्दै बिरामी, स्वास्थ्यकर्मी तथा सेवाग्राहीका लागि सुरक्षित र स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य संस्थामा सुरक्षित खानेपानीको पहुँच, सरसफाइका मापदण्ड, स्वास्थ्यजन्य फोहोरको सुरक्षित व्यवस्थापन, संक्रमण रोकथाम तथा नियन्त्रणका प्रभावकारी उपाय, स्वास्थ्य संस्थाको मूल्यांकन प्रक्रिया तथा सुधार योजनाका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।
छायाँ नेपालका सामाजिक तालिम अधिकृत लक्ष्मण उपाध्याय, कार्यक्रम संयोजक सभ्या बेल्बासे तथा सामाजिक व्यवहार परिवर्तन अधिकृत सन्जना मिश्रले प्रशिक्षणको सहजीकरण गर्दै स्वास्थ्य संस्थामा वास तथा संक्रमण नियन्त्रणका मापदण्डहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँहरूले स्वास्थ्य संस्थाले नियमित अनुगमन, सरसफाइको दिगो व्यवस्थापन, स्वास्थ्यजन्य फोहोरको वैज्ञानिक व्यवस्थापन तथा सेवाग्राहीको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका क्रममा लमही अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा। सुदीप चौधरीको संयोजकत्वमा वास फिट टिम गठन गरिएको छ । गठन गरिएको टोलीले अस्पतालको खानेपानी, सरसफाइ, स्वच्छता, स्वास्थ्यजन्य फोहोर व्यवस्थापन तथा संक्रमण रोकथामका गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने, नियमित मूल्यांकन गर्ने र सुधारका योजना कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ ।
कार्यक्रममा बोल्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले स्वास्थ्य संस्था स्वच्छ, सुरक्षित र गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन खानेपानी, सरसफाइ तथा संक्रमण नियन्त्रणका कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय सरकार स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
छायाँ नेपालले हाल लुम्बिनी प्रदेशका १३ वटा स्वास्थ्य कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा यस्तै कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थाले वास, स्वास्थ्यजन्य फोहोर व्यवस्थापन तथा संक्रमण रोकथामका मापदण्डहरू व्यवहारमा लागू गराई स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ ।
कार्यक्रमका अनुसार भोलि लमही अस्पतालको विस्तृत मूल्यांकन गरिने छ । मूल्यांकनबाट प्राप्त तथ्यका आधारमा अस्पतालको सुधार योजना तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गरिने जानकारी आयोजकले दिएको छ । कार्यक्रममा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।



लाइभदाङ । १४ श्रावण २०८३, बिहीबार १९:४१ बजे