
दीपक बोहरा
दाङ, १३ साउन ।
दाङको घोराही स्थित पद्मोदय पब्लिक नमूना माविको विद्यालय ब्यबस्थापन समितिको निर्वाचन गराउन जाने क्रममा घोराही १५ का वडा सदस्य लेखनाथ बुढाथोकीले मोविल छ्याप्दा आफ्नो १९ हजार दुई सय रुपैँया क्षति भएको शिक्षा अधिकृत अजय बोहराले बताएका छन् । उनी माथि असार २६ गते बिहान करिब साढे ७ बजेतिर बुढाथोकीले निर्वाचन रोक्न भन्दै मोविल छ्यापेका थिए । बोहरा निर्वाचन अधिकृतको जिम्मेवारीमा थिए । त्यही क्रममा आफूलाई सार्वजनिक स्थलमा अपमानित गर्ने, हतोत्साही बनाउने र मानसिक पीडा दिने नियतले उक्त अमानवीय व्यवहार गरेको बोहराले जाहेरीमा भनेका छन् ।
त्यही क्रममा मोविल छ्याप्दा बोहराले लगाएको एक हजार पाँच सय रुपैयाँको सर्ट र एक हजार आठसय रुपैयाँको पाइन्ट काम नलाग्ने गरी बिग्रिएको बताएका छन् ।
साथै मोबाइलमा समेत मोबिल पसेर क्षति पुगेको उनले बताए । त्यो सबै गर्दा १९ हजार दुईसय क्षति भएको बताए । त्यस्तै मानसिक पीडा बापत मनासिब क्षतिपूर्ति सहित प्रतिवादीलाई कडा कानुनी कारबाहीको समेत उनले माग गरेका छन् । बुढाथोकीले बोहरालाई रोकेर‘चुनाव किन गराउन लागेको, चुनाव गराउन पाइँदैन’ भन्दै अश्लील गालीगलौज गरे र सरकारी काममा बाधा पु¥याउने प्रयास गरेको समेत बयान दिएका छन् । बोहराले आफ्नो जिम्मेवारी पूरा गर्न जान खोज्दा बुढाथोकीले एक्कासि आफूसँग रहेको प्लास्टिकको बोतलमा भरेको कालो मोबिल बोहराको टाउको र शरीरमा खन्याइदिएका थिए । बुढाथोकीलाई दाङ जिल्ला अदालतले ५० हजार धरौटीमा छोडेको छ ।
शिक्षा अधिकृत माथि मोविल छ्याप्ने बुढाथोकीले स्वीकारे‘गल्ती’
दाङको घोराही स्थित पद्मोदय पब्लिक नमूना माविको विद्यालय ब्यबस्थापन समितिको निर्वाचन गराउन जाने क्रममा शिक्षा अधिकृत अजय बोहरामाथि मोविल छ्याप्ने घोराही १५ का वडा सदस्य लेखनाथ बुढाथोकीले आफ्नो गल्ती स्वीकार गरेका छन् ।
उनले आफ्नो बयानमा कसुर स्वीकार गर्दै उक्त घटनाको मुख्य कारण नियम विपरीत हुन लागेको विद्यालयको निर्वाचन भएको दाबी गरेका छन् । बुढाथोकीका अनुसार, पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताहरूलाई नियम विपरीत उम्मेदवार बनाइएको र आफूले पटक–पटक निर्वाचन रोक्न आग्रह गर्दा पनि सुनुवाइ नभएकाले आक्रोशमा आएर आफूसँग रहेको बोतलको कालो मोबिल बोहराको टाउको र शरीरमा खन्याएको बयान दिए । आफू घोराही १५ को वडा सदस्य र एक जिम्मेवार नागरिक भएको नाताले गलत कार्यको विरोध स्वरूप उक्त कार्य गरेको जिकिर गर्दै उनले सो घटनाको भिडियो आफ्नै फेसबुकबाट सार्वजनिक गरेको समेत स्वीकार गरे ।



लाइभदाङ । १३ श्रावण २०८३, बुधबार २२:३६ बजे