बलात्कारको एउटा मुद्दाः तीन तिर तीन बयान, जिल्लाले ८ बर्ष कैद गर्दा उच्चले उल्टायो

दीपक बोहरा
दाङ, १३ साउन ।
दाङमा एउटा बलात्कारको जाहेरीमा जाहेरीवालाले तीन ठाउँमा तीन फरक बयान दिएका छन् । घटना दाङ तुलसीपुरको हो । सुरुमा प्रहरी समक्ष बलात्कार भएको भनि जाहेरी र बयान दिईएको छ, भने जिल्ला र उच्च अदालतमा बलात्कार नभएको र आवेगमा आएर उजुरी दिएको भनि इनकारी बयान दिएका छन् । आफूले सहमतिमा करणी गरेको भनेर प्रहरी समक्ष बयान दिएका पीडक भनिने ब्यक्तीले समेत पछि इनकारी बयान दिएका छन् । त्यसरी प्रहरी समक्ष एउटा र अदालतसमक्ष एउटा बयान दिदा पनि जिल्ला अदालतले ८ बर्ष कैद फैसला सुनाएको थियो । तर, फेरी उच्च अदालत तुलसीपुरले मंगलबार मात्रै जिल्ला अदालतकै फैसला त्रुटीपूर्ण रहेको भन्दै सफाई दिएको छ ।

यस्तो छ घटना विवरण :
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.९ बस्दै आएका १७ वर्षीय एक नाबालकले र सोही ठाउँकी १४ वर्षीया बालिकाबीच फेसबुक र फोनबाट चिनजान र गफगाफ हुन्थ्यो । २०८१ असार ४ गते राति करिब पौने ११ बजेतिर ती बालकले बालिकालाई भेट्न बोलाए । त्यो दिन बालिकाकी आमाले छोरीलाई आफन्तीको घरमा छोडेर चितवन गएकी थिइन । त्यही मौकामा उनी ति बालकसंग गइन् । बालकले साथीहरु नभएको मौकामा ति केटीलाई साथीको कोठामा लिए, र सोही दिन राति संगै बसे ।

केटीको आमा चितवनबाट फर्किदा छोरी रातभर घरमा नभएको थाहा पाएपछि खोजिनीति गर्दा उनी केटासंग गएको थाहा पाइन् । त्यसपछि आमाले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिइन । जाहेरीमा दिईए अनुसार केटाले जबरजस्ती करणी भएको थियो ।

जाहेरी दर्ता भएर प्रक्रिया अघि बढ्दा केटीले पनि आफूमाथि जबरजस्ती करणीको भएको भनेर बयान दिइन्, भने केटाले पनि आफूले करणी गरेको स्वीकार गरे ।
त्यसपछि तयो जाहेरी मुद्दाका रुपमा जिल्ला अदालतमा पुग्यो । जब उनीहरु जिल्ला अदालतमा बयान दिन पुगे, त्यसपछि उनीहरुको बयान एकाएक फेरियो । पीडित र पीडक दुबैले करणी नभएको भनि बयान दिए । प्रहरीसमक्ष बयान दिएका साक्षीहरुले समेत एकाएक अदालतमा बयान फेरे । उनीहरुले‘जबरजस्ती करणी नभएको र रिसको आवेगमा मुद्दा हालेको’ भनेर बयान फेरे ।


तर, जिल्ला अदालत दाङले उनीहरुको बयानलाई आधार मानेन, स्वास्थ्य परीक्षणलाई आधार बनायो । बालकको सुरुको साबिती बयान, स्वास्थ्य परीक्षणमा देखिएको चोट र पीडितले चिकित्सकलाई दिएको ‘केस हिस्ट्री’ लाई बलियो प्रमाण मान्यो । चिकित्सकको स्वास्थ्य परीक्षणमा पनि बालिकाको‘हाइमेन’ (कन्याजाली) च्यातिएको र शरीरका विभिन्न भागमा रातो दागहरू देखिएको रिपोर्ट थियो । त्यही रिपोर्ट अनुसार जिल्ला अदालत दाङका न्यायाधीश तेज नारायण पौडेलको इजलासले ति बालकलाई ८ बर्ष कैद र तीन लाख ३३ हजार तीनसय ३३ रुपैँया जरिवाना तोक्यो । फैसला अनुसार सहमतिमै भएपनि १८ बर्ष भन्दा मुनीको करणीलाई जबरजस्ती नै मान्छ । त्यसलाई पनि आधार बनाईयो ।

त्यसपछि उनीहरु त्यो फैसलाका विरुद्ध उच्च अदालत तुलसीपुर गए । पीडित भनिहरुले पनि बयान फेरेको कुरालाई आधार बनाएर पीडक उच्च अदालत तुलसीपुर जाँदा घटनाले फरक मोड लियो ।त्यसपछि न्यायाधीश दुर्गा बहादुर विश्वकर्मा र यज्ञ बहादुर राना मगरको संयुक्त इजलासले प्रमाणहरूको अध्ययन गर्दा केन्द्रीय विधि विज्ञान प्रयोगशालाको रिपोर्टमा पीडितको शरीरमा विर्य वा शुक्रकिट नभेटिएको कुरालाई उल्लेख बनाएर त्यो फैसला उल्टायो ।

अदालतमा बकपत्र गर्दा पीडित र जाहेरवालाले ‘यो मुद्दा रिसको झोँकमा प्रतिशोध साध्न बुनिएको झुठ्ठा कथा’ भएको स्वीकार गरे भने साक्षीहरूले पनि प्रहरीले भनेको ठाउँमा मात्र सहिछाप गरेको र घटनाबारे आफूलाई थाहा नभएको बयान दिएका थिए । त्यसपछि यो मुद्दा उल्टिएको हो । उच्चको फैसलामा भनिएको छ‘पीडित आफैँले करणी भएको होइन भन्छिन्, र अन्य कुनै वस्तुनिष्ठ प्रमाण छैन भने, शंकाको भरमा मात्र कसैलाई दोषी बनाउनु न्यायको मर्म विपरित हुन्छ ।’ त्यसपछि मंगलबार मात्रै उच्च अदालत तुलसीपुरले जिल्लाको फैसला उल्ट्याउँदै अन्तिम फैसला ग¥यो । फैसलाले ती बालकलाई पूर्ण रूपमा सफाइ दियो र तत्काल थुनामुक्त गर्न आदेश जारी ग¥यो ।