कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको मृत्यु

बाँके , १३ साउन ।
बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। स्थानीय दयाप्रसाद थारुको डीबीसी सम्पन्न भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा बुधबार बिहान करिब ९ बजे काम गरिरहेका क्रममा उनीहरू फसेका थिए।

प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई बाहिर निकालेको भए पनि उनीहरूको घटनास्थलमै मृत्यु भइसकेको थियो। शवहरू पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।


मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का अन्दाजी ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्। घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।