राप्ती गाउँपालिका दाङ द्वारा कडाइसाथ बजार अनुगमन, ठुलो मात्रामा प्लास्टिकका फूल मालामा जफत

तुल बहादुर कवँर मगर 
देउखुरी, २५ कार्तिक ।
राप्ती गाउँपालिका दाङले स्थानीय स्तरमा उत्पादन हुने प्राकृतिक पुष्प प्रयोगमा जोड दिदै प्लास्टिकका फूल मालामा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरे सँगै कडाइसाथ बजार अनुगमन थालेको छ।
गाउँपालिकाले पालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकि संयोजक कमलापती चौधरीको नेतृत्वमा शुक्रबार पालिकाका लालमटिया,पाखापानी,भालुवाङ्ग पुलचोक बजार र पुरानो भालुवाङ्ग बजार क्षेत्रको अनुगमन गरेको छ। अनुगमनका क्रममा उक्त बजार क्षेत्रबाट करिब ४० हजार बराबरको ३ सय २७ पीस प्लास्टिकका माला जफत गरिएको छ।
गाउँपालिकाले गत वर्ष नै आफ्नो क्षेत्रभित्र खादा, प्लास्टिकजन्य माला, रबर, कोल्ड ड्रिंक्स, जंक फुड प्रयोग नगर्न र त्यस्ता वस्तुको सट्टामा स्थानीय उत्पादन प्रवर्द्धन गर्ने खाले वस्तु प्रयोग गर्न आग्रह गरेको थियो।
यो कुरा फेरि स्मरण गराउँदै पुनः कार्तिक १९ गते कार्यापालिकाको बैठक बसी गाउँपालिका क्षेत्रभित्र प्लास्टिकका फूलमालाहरुमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको थियोे ।
पालिकाले प्राकृतिक फूलमालाको उपलब्धता सहज होस् भनेर आफ्नो क्षेत्रभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर समेत यस अघि नैसार्वजनिक गरि सकेको छ।
पालिकाले खादाको सट्टा प्राकृतिक फूल वा माला, कोल्ड ड्रिंक्सको सट्टा दूध, दही, मोही, प्लास्टिकका प्लेट, थाल, चम्चा प्रयोग गर्नुको सट्टा साल, मालु आदिबाट निर्मित टपरी वा दुना प्रयोग गर्न आग्रह गरेको छ।
बजार अनुगमनमा गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकि संयोजक कमलापती चौधरी,आर्थिक विकास शाखा प्रमुख जिवराज शर्मा,कृषि विकास शाखा प्रमुख सीमा भट्ट ,पञ्जिकरण शाखा प्रमुख नारायण बहादुर रावत,अभिलेख तथा सुचनासम्पादनकर्ता तुल बहादुर कवँर मगर ,पत्रकार ओम प्रकाश गुप्ता लगायत ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरीहरुको सहभागीता रहेको थियो ।
त्यस्तै पालिकाले यस अघि पनि बजार अनुगमन गरि दुई लाख बढी मूल्यका विभिन्न अखाद्य वस्तु जफत गरि नष्ट गरेको थियोे ।