मनसुन पूर्व र मध्य नेपालतर्फ सर्दै, भारी वर्षाको चेतावनी

तुलसीपुर,२८ असार ।
पश्चिम नेपालमा केन्द्रित रहेको मनसुनी वर्षा आइतबारबाट पूर्वी र मध्य नेपालमा सिफ्ट हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन कोशी, मधेश, बागमती र गण्डकी तथा लुम्बिनीका पूर्वी क्षेत्र केन्द्रित वर्षाको सम्भावना छ। त्यसमा पनि कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागमा अति भारी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ ।

मौसमविद् रोजन लामिछानेले लुम्बिनीका पश्चिमी भूभागसँगै कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा कम पानी पर्ने देखिएको बताए । ‘पानी त देशभर पर्छ । तर, मनसुनको न्यूनचापीय रेखा पूर्वमा नेपालको तराईनजिक आउँदै छ । यसले आइतबारबाट पूर्वी र मध्य नेपालमा अलि बढी पानी पर्ने देखिन्छ,’ उनले भने, ‘मधेशमा पनि पानी पर्छ। त्यहाँका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ ।’

विभागका अनुसार आइतबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ। तर, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा ठुलो वर्षाको सम्भावना पनि छ । आइतबार राति कोशी, मधेश, बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।


सोमबार कोशी, बागमती र गण्डकीका पहाडी र तराईका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । यस्तै कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्र तथा मधेशसहित ती प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । सोमबार राति मौसममा थप बदलाब आई कोशी र बागमती प्रदेशको पहाडी तथा तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण गरिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

विभागले वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन तथा आवश्यक सावधानीका साथ यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।