अपांगता भएका व्यक्तिको आत्मनिर्भरता र आयआर्जनमा सीपमूलक तालिम प्रभावकारी- उपप्रमुख योगी

प्रिया स्मृती गजमेर
देउखुरी, ११ असार ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सशक्त बनाउन सीपमूलक तालिम प्रभावकारी माध्यम भएको बताउनुभएको छ । उहाँले यस्ता तालिमले सहभागीहरूको जीविकोपार्जनमा प्रत्यक्ष सहयोग पुग्ने विश्वास व्यक्त गर्दै राज्यका निकायहरूले अपांगता भएका व्यक्तिहरूको क्षमता विकास र उद्यमशीलता प्रवर्द्धनमा थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

लमही नगरपालिकाको आर्थिक सहयोग तथा डि।के। इन्जिनियरिङ कन्सल्टेन्सीको प्राविधिक सहयोगमा सञ्चालन भएको ६ दिने सरफ तथा नुहाउने साबुन बनाउने तालिमको समापन कार्यक्रममा बोल्दै उपप्रमुख योगीले अपांगता भएका व्यक्तिहरूलाई सीपसँग जोडेर आत्मनिर्भर बनाउनु वर्तमान समयको आवश्यकता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अपांगता भएका व्यक्तिहरूलाई सामाजिक सहानुभूतिको दृष्टिले मात्र होइन, उत्पादनशील जनशक्तिको रूपमा हेर्नुपर्छ । उनीहरूमा रहेको क्षमता र सम्भावनालाई उजागर गर्न राज्यले सीपमूलक तथा रोजगारमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्छ । यस्तो तालिमले उनीहरूलाई आफ्नो खुट्टामा उभिन, सानो लगानीबाट व्यवसाय सञ्चालन गर्न र परिवारको आर्थिक अवस्थामा योगदान पुर्‍याउन सहयोग पुग्छ ।”

उपप्रमुख योगीले अपांगता भएका व्यक्तिहरूलाई आर्थिक रूपमा सबल बनाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सीप विकाससँगै सहुलियतपूर्ण ऋण, बजार व्यवस्थापन, उद्यम सञ्चालनका लागि अनुदान तथा उत्पादित सामग्रीको बजारीकरणमा सहयोग उपलब्ध गराउन सके उनीहरूको आर्थिक अवस्था थप मजबुत बन्ने धारणा राख्नुभयो ।

“तालिम दिएर मात्रै हुँदैन, तालिमपछि उनीहरूले उत्पादन गरेका सामग्री बिक्री गर्ने वातावरण सिर्जना गर्नुपर्छ । स्थानीय तहले आवश्यक नीति तथा कार्यक्रममार्फत अपांगता भएका व्यक्तिहरूलाई उद्यमसँग जोड्न विशेष पहल गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै लमही नगरपालिकाका वडा नम्बर ८ का वडा सदस्य तथा कार्यपालिका सदस्य देवा परियारले अपांगता भएका व्यक्तिहरू समाजका महत्वपूर्ण सदस्य भएको बताउँदै उनीहरूलाई अवसर र पहुँच उपलब्ध गराउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।


उहाँले अपांगता भएका व्यक्तिहरूलाई दान र सहयोगको दृष्टिकोणबाट मात्र हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउँदै उनीहरूलाई सीप, शिक्षा र रोजगारीमार्फत सक्षम नागरिकका रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “यस्ता तालिमले सहभागीहरूमा आत्मविश्वास बढाउनुका साथै आफ्नै सीप प्रयोग गरेर आयआर्जन गर्ने बाटो खुला गर्छ । स्थानीय सरकारले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ,” उहाँले भन्नुभयो ।

परियारले अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न राज्यका सबै संरचनाले संवेदनशील भएर काम गर्नुपर्ने उल्लेख गर्दै उनीहरूको क्षमता अभिवृद्धिका लागि अझ बढी अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

तालिममा सहभागीहरूले आफूहरूले नयाँ सीप सिक्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनीहरूले साबुन निर्माणसम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेको र आगामी दिनमा सिकेको सीपलाई आयआर्जनसँग जोड्ने योजना रहेको बताएका छन् । यस्ता तालिमले आत्मनिर्भर बन्न प्रेरणा मिलेको सहभागीहरूको भनाइ थियो ।

६ दिनसम्म सञ्चालन भएको उक्त तालिममा ३३ जना सहभागी रहेका थिए । तालिममा साबुन निर्माणका विभिन्न प्रक्रिया, कच्चा पदार्थको प्रयोग, गुणस्तर व्यवस्थापन तथा उत्पादनलाई व्यवसायसँग जोड्ने विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिमका प्रशिक्षक मनसरी केसी र विनु भुजेलले सहभागीहरूलाई सीपमूलक तालिम र साबुन उत्पादनका सम्पूर्ण प्रक्रियाबारे प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूको सक्रियता र सिकाइप्रतिको उत्साहले तालिम प्रभावकारी बनेको प्रशिक्षकहरूको भनाइ रहेको थियो ।