किशोरीहरूमा बढ्दो रक्तअल्पता:गढवामा विद्यालय केन्द्रित परीक्षण कार्यक्रम सुरु

आलोक भावुक
गढवा,६ असार ।
गढवा गाउँपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले रक्तअल्पता (एनेमिया)परीक्षण कार्यक्रम सुरु गरिएको छ।

गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा तीन विद्यालयका किशोरीहरूको परीक्षण सम्पन्न भएको छ।

हालसम्म जनता माध्यमिक विद्यालय गढवा–६, शुभतारा इङ्लिस बोर्डिङ स्कुल गढवा–६ र ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुल गढवा–६ मा परीक्षण सम्पन्न भएको छ। प्राप्त तथ्यांक अनुसार जनता माध्यमिक विद्यालयमा परीक्षण गरिएका ३७३ जना किशोरीमध्ये २७१ जनामा, शुभतारा बोर्डिङ स्कुलमा परीक्षण गरिएका २०६ जनामध्ये १४४ जनामा तथा ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुलमा परीक्षण गरिएका १६६ जनामध्ये १२२ जनामा रक्तअल्पताको समस्या देखिएको छ। तीन विद्यालयका गरी जम्मा ७४५ जना किशोरीहरूको परीक्षण गर्दा ५३७ जनामा रक्तअल्पता देखिनु चिन्ताजनक अवस्था भएको जनस्वास्थ्य कार्यालय दाङका ल्याब टेक्नोलोजिस्ट उज्ज्वल कुमार पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार किशोरीहरूमा रक्तअल्पताको समस्या बढ्दै जानु पोषण, खानपान, सरसफाइ तथा स्वास्थ्य सचेतनासँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले समयमै परीक्षण र उपचार आवश्यक छ। “विद्यालयस्तरमै परीक्षण गर्दा वास्तविक अवस्था पहिचान गर्न सहज भएको छ। अब देखिएका समस्याको व्यवस्थापन तथा आवश्यक परामर्श र उपचारका लागि थप कार्यक्रम सञ्चालन गरिनेछ,” पौडेलले बताउनुभयो।गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले किशोरीहरूको स्वास्थ्य सुधार गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै रक्तअल्पता न्यूनीकरणका लागि विद्यालय, अभिभावक र स्वास्थ्य संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “किशोरीहरू भविष्यका आमा तथा राष्ट्रका महत्वपूर्ण जनशक्ति हुन्। उनीहरूको स्वास्थ्य अवस्था राम्रो बनाउन नियमित परीक्षण, पोषणयुक्त खानाको सेवन र स्वास्थ्य सचेतना अभिवृद्धि आवश्यक छ। गाउँपालिकाले यस अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनेछ।”



स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार आगामी असार ८ गते नेपाल बोर्डिङ स्कुल गढवा–३, दीपेन्द्र माध्यमिक विद्यालय गढवा–३ तथा सरस्वती माध्यमिक विद्यालय विद्यानगर गोबरडिहा–३ मा पनि रक्तअल्पता परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममा जनस्वास्थ्य कार्यालय दाङका ल्याब टेक्नोलोजिस्ट उज्ज्वल कुमार पौडेल, जनस्वास्थ्य अधिकृत अस्मिता चौधरी, गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरी, विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो।

किशोरीहरूमा उच्च दरमा रक्तअल्पता देखिनुले पोषण तथा स्वास्थ्य क्षेत्रमा थप ध्यान दिनुपर्ने आवश्यकता रहेको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक राम सुरत यादवले बताउनुभयो। विद्यालयस्तरमै गरिएको परीक्षणले समस्या पहिचान गरी समयमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको प्रधानाध्यापक यादवको भनाई रहेको छ।