दाङमा ब्राउन सुगरजस्तो पदार्थसहित एक जना पक्राउ

दाङ,२५ जेठ ।
लागूऔषध ब्राउन सुगर बिक्री–वितरणमा संलग्न रहेको आशंकामा प्रहरीले दाङको भालुबाङ क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले स्वीप अपरेशन सञ्चालन गरी शंकास्पद अवस्थामा हिँडिरहेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–५ पर्चिया निवासी ४२ वर्षीय साकिर खान रहेका छन्। प्रहरीका अनुसार उनले लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ बिक्री गर्न भालुबाङतर्फ आउँदै गरेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

मिति २०८३ जेठ २२ गते दाङको राप्ती गाउँपालिका–१ भालुबाङ क्षेत्रमा गस्तीका क्रममा प्रहरीले खानलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। त्यसपछि गरिएको खानतलासीका क्रममा उनको साथबाट लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। यद्यपि बरामद पदार्थको परिमाणबारे भने प्रहरीले खुलाएको छैन।

प्रहरीले पक्राउ परेका खानमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउपछि बरामद पदार्थ परीक्षणका लागि सम्बन्धित निकायमा पठाइने र घटनाको विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ।


पछिल्लो समय दाङसहित आसपासका क्षेत्रमा लागूऔषध कारोबार तथा ओसारपसारका घटना बढ्दै गएको भन्दै प्रहरीले निगरानी र नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको जनाएको छ। विशेषगरी भारतसँग जोडिएका विभिन्न नाकाबाट लागूऔषध भित्रिने तथा जिल्लाका विभिन्न बजार क्षेत्रमा वितरण हुने गरेको सूचनापछि प्रहरीले नियमित रूपमा चेकजाँच, गस्ती तथा स्वीप अपरेशन सञ्चालन गर्दै आएको छ।

प्रहरीले लागूऔषध नियन्त्रण अभियानमा स्थानीयवासीको सूचना र सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।