ग्यास लिग भएर आगलागी भएमा कसरी आगो निभाउने ?

तुलसीपुर,२३ जेठ ।
दाङको तुलसीपुरमा ग्यास लिग भएर आगलागी भएमा कसरी निभाउने भन्ने विषयमा नमूना अभ्यास प्रर्दशन गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा उक्त अभ्यास गरिएको हो । खाना पकाउने क्रममा ग्यास लिग भएमा अपनाउनुपर्ने सावधानी, आगो ताप्ने वा अन्य कारणले शरीरमा आगो लागेमा त्यसलाई सुरक्षित रूपमा निभाउने उपाय तथा कुनै खानेकुरा घाँटीमा अड्किएमा प्राथमिक उद्धार कसरी गर्ने भन्ने विषयमा नमूना प्रस्तुत गरिएको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, लुम्बिनी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म तुलसीपुर, इलाका प्रहरी कार्यालय तुलसीपुर, सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुर तथा सहयोगी बचत तथा ऋण सहकारी संस्थाको प्राविधिक सहयोगमा यस्तो कार्य भएको हो । जुन कार्यक्रमको आयोजक घरेलु तथा साना उद्योग महासंघ थियो ।


त्यस्तै महासंघकै आयोजनामा कृषि हाटबजार स्थलको सरसफाइ समेत गरिएको थियो ।
महासंघका अध्यक्ष लालबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली तथा तुलसीपुर उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिब भद्रबहादुर वलीले गरेका थिए ।